इन्स्पेक्टरदेखि डीआईजीसम्मको प्रहरी सरुवा किन रोकियो ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
इन्स्पेक्टरदेखि डीआईजीसम्मको प्रहरी सरुवा किन रोकियो ?

वीरगञ्ज, ०४ असोज । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरदेखि डीआईजीसम्मको सरुवाको गृहकार्य गरेपनि तत्कालका लागि रोकिएको छ । गृहमन्त्री सुधन गुरुङले तत्काल सरुवामा चासो नदिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रस्ताव अलपत्र परेको छ ।

आईजीपी कार्कीले तीन प्रदेशका डीआईजी हेरफेर गर्न खोजेका छन् । उनले लुम्बिनीमा विश्व अधिकारी, बागमतीमा सुर्दशन कोइराला तथा कर्णालीमा अबिनारायण काफ्लेको प्रस्ताव गरेको गृह स्रोत बताउँछ ।

बागमती र कर्णालीका डीआईजी सरुवा हुने निश्चित छ । तर, राम्रो काम गरिरहेका लुम्बिनीका डीआईजी भूपेन्द्र खत्रीलाई कार्यकाल नपुगी हटाउन नहुने पक्षमा गृह मन्त्रालय छ । सोही कारण पनि तत्काल सरुवा रोकिएको स्रोत बताउँछ ।

अर्कोतर्फ विवादित डीआईजी विश्व अधिकारीलाई आईजीपीले च्यापेकोमा पनि प्रहरी प्रधान कार्यालयभित्र असन्तुष्टि छ । एकातर्फ उनी जेनजी आन्दोलनको असफल कमाण्डर हुन् भने प्रबन्ध शाखामा बसेर गत वर्षको खरिद घोटालामा मुछिएका मुख्य अधिकृत हुन् ।

जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । यसमा अधिकारी र आईजीपी दुवै जनामाथि मुद्दा चल्ने जोखिम छ । प्रबन्धकै स्वार्थका कारण उनी आईजीपीसँग नजिकिएको स्रोत बताउँछ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको कार्यकाल पूरा भएको छ । त्यहाँ जान एसएसपीहरु शान्तिराज कोईराला, ऋषिराम कंडेल, होविन्द्र बोगटी र महेन्द्र खड्का लगायत शक्तिकेन्द्र धाइरहेका छन् ।

बाँके जान एसपी बालनरसिंह राणाले चलखेल गरिरहेका छन् । राणा एक वर्ष अगाडि कमजोर कमाण्डिङका कारण कैलालीबाट तानिएका थिए । प्रहरी प्रधान कार्यालयले बर्दियामा शालिग्राम शर्मा र दाङमा नवरत्न पौडेलको सिफारिस गरेको स्रोतको भनाइ छ । मोरङमा केशव भट्टराई र दिलिप गिरीको प्रतिस्पर्धा छ।

मकवानपुरका एसपी श्याम खत्री फिर्ता भएमा उनको ठाउँमा कुमोद ढुङ्गेल जाने सम्भावना छ। कैलालीमा यादव ढकाललाई पठाउने तयारी छ। त्यस्तै, कास्कीमा प्रबन्ध निर्देशनालयका एसपी निर्मल बुढाथोकीलाई पठाउने तयारी रहेको स्रोत बताउँछ । प्रधान कार्यालयले डीएसपी र इन्सपेक्टरको पनि सूची बनाइरहेको छ।

तर, गृहमन्त्री र आईजीपीबीच सम्बन्ध राम्रो नभएका कारण सरुवा प्रभावित हुने देखिएको छ । आईजीपी कार्कीको प्रधानमन्त्री बालेन शाहसँग पनि सम्बन्ध राम्रो छैन । विपदको  समयमा प्रहरीसँग हेलिकोप्टर नहुँदा धेरैको ज्यान जोगाउन नसकिएको भनेर विवादास्पद अभिव्यक्ति दिएको विषयमा उनलाई प्रधानमन्त्रीले सचेत गराएका छन् ।

अर्कोतर्फ  संसदमा पनि निलम्बनको कुरा उठिरहेकाले आईजीपी  कार्की यतीबेला कमजोर अवस्थामा छन्। प्रधानमन्त्री शाह अमेरिकाबाट फर्केपछि आईजीपीबारे निर्णय हुन सक्ने बुझिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस