सिमराको होटलमा चक्कु प्रहार गरी हत्या, मुख्य आरोपित आयुष राईसहित ५ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (२६ मिनेट अघि)
  • ४३ पटक पढिएको
सिमराको होटलमा चक्कु प्रहार गरी हत्या, मुख्य आरोपित आयुष राईसहित ५ जना पक्राउ

बारा, ०४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोड नजिकै रहेको ‘सम्झना स्टाफ होटेल’ मा शनिवार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृतक स्थानीय ३८ वर्षीय शेरबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होटेलमा खाजा खान आएका समूहबिच विवाद भएपछि होटेलको भान्सामा रहेको चक्कु प्रयोग गरी खड्काको घाँटीमा गम्भीर प्रहार गरिएको थियो ।

घाइते खड्कालाई उपचारका लागि सुरुमा सिमरा नगर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पुर्‍याइएको थियो । तर उपचारकै क्रममा शनिवार साँझ ६:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटना लगत्तै फरार भएका मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दयाकृष्ण भट्टका अनुसार पक्राउ पर्नेमा सिमराकै अन्दाजी २२ वर्षीय आयुष राई छन् ।

राईलाई शनिवार राति करिब ९:३० बजे जीतपुरसिमरा उपमहानगरपालिका–१६ महेन्द्रनगरस्थित डाँडाटोल क्षेत्रको धान खेतबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राई घटनापछि पश्चिमतर्फ जङ्गल हुँदै राजमार्ग निस्किएर महेन्द्रनगरतर्फ पुगेको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो । आफन्तको घरमा लुकेको सूचना पाएपछि प्रहरीले घेरा हाल्दा राई भागेर धानखेतमा लुक्ने प्रयास गरे पनि पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनलाई भगाउन सहयोग गरेको आशङ्कामा एक जना आफन्तलाई पनि नियन्त्रणमा लिइएको छ ।

यस घटनाको अनुसन्धानका लागि प्रहरीले कुल ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । तीमध्ये राईसँगै होटेलमा आएका दुई युवकलाई अस्पतालबाट नियन्त्रणमा लिइएको बताइएको छ । साथै, घटनाबारे थप बुझ्न होटेल सञ्चालकलाई पनि सोधपुछका लागि नियन्त्रणमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस