प्रमुख प्रशासकीय अधिकृत नआएपछि मेयरले लगाए ताल्चा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १२, सोमबार (३ हप्ता अघि)
  • १०२ पटक पढिएको
प्रमुख प्रशासकीय अधिकृत नआएपछि मेयरले लगाए ताल्चा

महोत्तरी ,१२ असोज।  महोत्तरीको भंगहा नगरपालिकाको कार्यालय र नगरभित्र रहेका सबै वडा कार्यालयमा आज तालाबन्दी गरिएको छ।

लामो समय बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै नगरपालिका प्रमुख संजीवकुमार साहको अगुवाइमा सबै कार्यालयमा तालाबन्दी गरिएको हो।

नगरपालिका प्रमुख साहका अनुसार लामो समयदेखि कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीसँगै कर्मचारीलाई समेत काम गर्न अप्ठेरो परेकाले तालाबन्दी गर्नुपरेको हो।

उनले भने, ‘कार्यालयमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत पठाउन अल्टिमेटम दिएका थियौँ। त्यसो हुन सकेन। काम गर्न अप्ठेरो भयो, त्यही भएर आज तालाबन्दी गरेका हौँ।’

मेयर साहले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बारम्बार काठमाडौं धाए पनि मन्त्रीलाई भेट्न नपाएको र सचिवसमक्ष गुनासो राख्दा पनि अहिलेसम्म नपठाइदिँदा दैनिक कार्यमै अवरोध सिर्जना भएको बताए।

गएको सोमबार पनि मन्त्रालय गएको र मन्त्रीसँग भेट गराइदिन उनका पीएसँग आग्रह गर्दा ‘५ मिनेट’ भन्दै २ घण्टा कुराएर भेटघाट गर्न पनि नदिई ‘हामी पठाइदिन्छौँ’ भन्दै फर्काइएको उनले गुनासो गरे।

उनले भने, ‘अबको ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर हुनुभएन भने नगरभित्रका स्वास्थ्य र शिक्षाका सम्पूर्ण संस्थाहरू पनि बन्द गर्नेछौँ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको प्रशासनिक तथा वित्तीय कार्यसँगै नगरको विकास निर्माणको काममा समेत अवरोध हुन पुगेको उनले बताए।

‘३ महिनादेखि यहाँका कर्मचारीले तलबभत्ता पाएका छैनन्। कार्यालय सहयोगीहरूलाई हामीले कहिलेसम्म कुराउने, जुनकी उहाँहरू यसमै आश्रित हुनुहुन्छ,’ उनले भने।

उनका अनुसार बैंकमा खोलिनुपर्ने खाता समेत अहिलेसम्म खोलिएको छैन। पहिला भएका अधिकृतको नाममा खोलिदिन आग्रह गर्न जाँदा कोष तथा लेखा नियन्त्रक कार्यालयले नयाँकै नाममा मात्र खोल्न मिल्ने भनेपछि आफूहरू थप मारमा परेको उनले गुनासो गरे।

३ महिनादेखि तलबभत्ता खान नपाइरहेको अवस्थामा नजिकिँदै गरेको महान् चाड दसैँ, तिहारमा समेत तलबभत्ता नपाउने अवस्था सिर्जना हुँदै गएपछि बाध्य भएर यो कदम चाल्नुपरेको उनको भनाइ छ।

तालाबन्दी गरिएका कार्यालयका चाबी भने सबै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस