
रौतहट,१३ असोज। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्दै भट्टराईले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्नेमा जोड दिएका हुन् ।
‘सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एकपछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ,’ उनले भनेका छन्, ‘हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ ।
भट्टराईले आर्थिक तथा सामाजिक रूपमा कमजोर व्यक्तिले अपराध गर्दा प्रमाण छाड्ने भएकाले पक्राउ पर्ने तर शक्तिशाली व्यक्तिले प्रमाण नछाड्दा प्रमाण अभावमा उन्मुक्ति पाउने अवस्था रहेको टिप्पणी गरेका छन्।
उनले यस्तो न्यायिक प्रणालीमा सुधार आवश्यक रहेको भन्दै गरिब र कमजोरका लागि एउटा तथा शक्तिशालीका लागि अर्को व्यवहार हुने अवस्थामाथि प्रश्न उठाएका छन्।
भट्टराईले देशलाई व्यवस्थित रूपमा लुट्दै आएका तथा भविष्यमा पनि त्यस्तो गतिविधि गर्न सक्ने विभिन्न समूहलाई नियन्त्रण नगरी सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने बताएका छन्।
‘देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही सुरुवात हुन्न,’ उनले भनेका छन्।
