
सर्लाही ,१३ असोज। सर्लाहीमा ह्वाट्सएपमार्फत अश्लील संवाद तथा भिडियो तयार गरी त्यसकै आधारमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसबरिया गाउँपालिकाका शिव चरण मुखिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चिनजान तथा नातासम्बन्धका आधारमा विश्वासमा पारी एक महिलासँग ह्वाट्सएपमार्फत पटक पटक भिडियो कल गरिएको थियो । सो क्रममा भएका अश्लील संवाद तथा भिडियो रेकर्ड गरी पछि त्यसैलाई प्रयोग गर्दै ब्ल्याकमेलिङ गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।
उजुरीअनुसार आरोपितले महिलालाई विभिन्न किसिमका दबाब तथा धम्की दिँदै आफूले सुरक्षित राखेका अश्लील तस्बिर, भिडियो तथा कुराकानीका रेकर्ड आफन्त तथा परिवारका सदस्यलाई पठाइदिने र सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको प्रहरीले जनाएको छ । साथै, उनले ५० हजार रुपैयाँ माग गरेको आरोपसमेत छ ।
पीडित महिलाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । जिल्ला अदालत सर्लाहीबाट विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधमा आरोपितलाई सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाईएको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष ( डिएसपी ) वेद प्रसाद गौतमले जानकारी दिए ।
त्यस्तै, कसैको निजी वा अश्लील तस्बिर तथा भिडियो प्राप्त भएमा त्यसलाई सेयर, फर्वार्ड, लाइक वा सामाजिक सञ्जालमा पोस्ट नगर्न तथा पीडितलाई थप क्षति पुग्ने काम नगर्न प्रहरीले अनुरोध गरेको छ । त्यस्ता सामग्री वा धम्कीसम्बन्धी च्याट तथा रेकर्ड सुरक्षित राखी तत्काल प्रहरीलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।
