टिपरको ठक्करबाट धनुषामा बालिकाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (३ हप्ता अघि)
  • ६९ पटक पढिएको
टिपरको ठक्करबाट धनुषामा बालिकाको मृत्यु

धनुषा,१३ असोज। धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसी राम रहेकी छन्।

प्रहरीका अनुसार सोमबार साँझ क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित राजदेवी मन्दिर अगाडि जनकपुर–ढल्केवर सडकमा दुर्घटना भएको हो। जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले सडक पार गर्ने क्रममा रहेकी बालिकालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी नैनसीलाई तत्काल जानकी मेडिकल कलेज, रमदैयामा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि रामजानकी अस्पताल, जनकपुर पुर्‍याइएकोमा चिकित्सकले साँझ ८ः५० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। दुर्घटनापछि प्रहरीले टिपर चालक क्षिरेश्वरनाथ नगरपालिका–३ निवासी करिब ३६ वर्षीय उमेशसिंह दनुवारलाई नियन्त्रणमा लिएको छ।

उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस