भीभीआईपी गाडी खरिद प्रक्रिया तत्कालका लागि रोकियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १५, बिहिबार (१६ घण्टा अघि)
  • ५६ पटक पढिएको
भीभीआईपी गाडी खरिद प्रक्रिया तत्कालका लागि रोकियो

जनकपुरधाम,१५ असोज। मधेश प्रदेश सरकारले भीभीआईपी प्रयोजनका लागि करिब साढे ३ करोड रुपैयाँ मूल्यको विलासी सवारीसाधन खरिद गर्न आह्वान गरेको बोलपत्र तत्कालका लागि स्थगित गरेको छ ।

सवारीसाधन खरिदको औचित्यमाथि चौतर्फी प्रश्न उठेपछि प्रदेश सरकारले खरिद प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ । श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले जनाए अनुसार मुलुकको वर्तमान अवस्था र सरकारको खर्च कटौतीको नीतिलाई ध्यानमा राख्दै तत्कालका लागि खरिद प्रक्रिया रोकिएको छ । उनको अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयको निर्देशनमा भीभीआईपीका लागि चारपांग्रे सवारीसाधन खरिद गर्न बोलपत्र आह्वान गरिएको थियो ।

श्रम तथा यातायात मन्त्री थापाले अहिलेको विषम परिस्थितिमा करोडौँ रुपैयाँ खर्च गरेर विलासी सवारी खरिद गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषयमा विभिन्न क्षेत्रबाट प्रश्न उठेपछि प्रक्रिया रोकिएको बताइन् । मन्त्री थापाले तत्काल भीभीआईपीको आगमनको सम्भावना नरहेकाले पनि नयाँ सवारीसाधन खरिदको आवश्यकता नदेखिएको प्रस्ट्याइन् । उनले बोलपत्र आह्वान हुनुअघि आफूलाई खरिद प्रक्रियाबारे पूर्वजानकारी नभएको दाबी गरिन् ।

सवारी खरिदको औचित्यमाथि प्रश्न उठेपछि मन्त्रालयका सचिवसँग आवश्यक जानकारी लिएर निर्णय भइनसकेको अवस्थामा प्रक्रिया अघि नबढाउने निर्णय गरिएको उनको भनाइ छ । मधेश प्रदेश सरकारले सरकारी खर्च कटौती गर्ने नीति कार्यान्वयन गरिरहेका बेला गत भदौ २५ गते श्रम तथा यातायात मन्त्रालयले भीभीआईपी प्रयोजनका लागि ३ करोड ५० लाख रुपैयाँ लागतको विलासी सवारीसाधन खरिद गर्न बोलपत्र आह्वान गरेको थियो ।

बोलपत्र सार्वजनिक भएपछि आर्थिक दबाबमा रहेको प्रदेश सरकारले एउटै सवारीसाधनमा करोडौँ रुपैयाँ खर्च गर्न लागेको भन्दै यसको औचित्यमाथि प्रश्न उठेको थियो । प्रदेश सरकारले यसअघि नै नयाँ सवारीसाधन तथा मेसिनरी औजार खरिद वा भाडामा लिने खर्चमा शतप्रतिशत रोक लगाएको छ । मधेश प्रदेशको बजेट कार्यान्वयन सम्बन्धी निर्देशिका अनुसार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा विभिन्न ४४ शीर्षकमा २० देखि ७५ प्रतिशतसम्म खर्च कटौती गरेको छ ।

निर्देशिका अनुसार भत्ता, सञ्चार शुल्क तथा अति विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण खर्चमा २० प्रतिशत कटौती गरिएको छ । त्यस्तै, तालिम तथा गोष्ठी, सशर्त अनुदान, वन तथा वातावरण संरक्षण र भैपरी आउने खर्चमा ५० प्रतिशत तथा पुँजीगत अनुसन्धान र परामर्श खर्चमा ७५ प्रतिशतसम्म कटौती गरिएको छ । खर्च नियन्त्रणका लागि यस्ता व्यवस्था लागू गरिएको अवस्थामा भीभीआईपीका नाममा ३ करोड ५० लाख रुपैयाँको सवारी खरिद प्रक्रिया अघि बढाइएको विषयले सरकारको खर्च प्राथमिकतामाथि प्रश्न उठाएको थियो ।

बजेट खर्चसम्बन्धी निर्देशिकामा मुख्यमन्त्रीका लागि समेत करिब डेढ करोड रुपैयाँसम्मको सवार ीसाधन खरिद गर्न सकिने व्यवस्था रहेको बताइएको छ । तर, त्यसको तुलनामा निकै महँगो सवारी खरिद गर्न खोजिएपछि विषय थप विवादित बनेको छ । उक्त सवारी राष्ट्रपति, प्रधानमन्त्रीजस्ता अति विशिष्ट व्यक्तिको मधेश प्रदेश भ्रमणका क्रममा प्रयोग गर्ने उद्देश्यले खरिद गर्न लागिएको जनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गर्न सकिने खरिद प्रक्रिया श्रम तथा यातायात मन्त्रालयमार्फत किन अघि बढाइयो भन्ने प्रश्नमा मन्त्री थापाले विगतमा पनि यस्तै सवारीसाधन यही मन्त्रालयमार्फत खरिद हुने गरेको बताइन् । सवारीसाधन खरिदमा रोक लगाइएको अवस्थामा अर्थ मन्त्रालयबाट समेत उक्त गाडी खरिदका लागि मात्रै सहमति दिइएको विषयले आलोचना थप चर्किएको थियो । आम्दानीको स्रोत सीमित र बजेट कार्यान्वयनमा खर्च कटौती गर्नुपर्ने अवस्थामा रहेको प्रदेश सरकारले भीभीआईपीका नाममा गर्न लागेको विलासी गाडी खरिद प्रकरण अन्ततः तत्कालका लागि स्थगित गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस