जालिम मियाँका कान्छा छोरा जाफिर पनि प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १६, शुक्रबार (३ हप्ता अघि)
  • ९६ पटक पढिएको
जालिम मियाँका कान्छा छोरा जाफिर पनि प्रहरी नियन्त्रणमा

पर्सा,१६  असोज।  नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार जगरनाथपुर गाउँपालिका–५ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई बुधबार दिउँसो वीरगञ्जबाट पक्राउ गरिएको हो। जाफिर भैंसी तथा पाडा व्यापारमा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जाफिरमाथि जगरनाथपुर गाउँपालिका–४ की आफ्नी सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ। यही घटनाको अनुसन्धानका क्रममा जाफिरका दाजु नासिर अहमद मन्सुरीलाई समेत प्रहरीले यसअघि असोज ३ गते पक्राउ गरिसकेको छ। नासिर हाल प्रहरी हिरासतमा छन्।

प्रहरीका अनुसार २०७८ साल असोज २१ गते जाफिरकी सालीको शव वीरगञ्ज महानगरपालिका–१३ मुर्लीस्थित कब्रस्तानमा प्रहरीलाई जानकारी नदिई गाड्ने प्रयास गरिएको थियो। शव गाड्ने क्रममा नासिर, जाफिरलगायत केही व्यक्तिको संलग्नता रहेको आरोपमा प्रहरीले त्यसबेला नियन्त्रणमा लिएको थियो।

प्रहरी अनुसन्धानअनुसार मृतक युवतीको मृत्युको परिस्थितिबारे समेत गम्भीर प्रश्न उठेको थियो। उनलाई जबर्जस्ती करणी भएको र त्यसपछि अत्यधिक रक्तश्रावका कारण सिकिस्त भएपछि स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको आरोपसमेत घटनासँग जोडिएको छ। त्यसपछि शवलाई वीरगञ्ज ल्याएर गुपचुप रूपमा गाड्न खोजिएको प्रहरीको दाबी छ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आएको भए पनि लामो समयसम्म मुख्य आरोपितमाथि कारबाही नभएको भन्दै प्रश्न उठ्दै आएको थियो। अहिले करिब पाँच वर्षपछि जाफिर र नासिर पक्राउ परेपछि प्रहरीले पुरानो घटनाको अनुसन्धान पुनः अघि बढाएको जनाएको छ।

यसअघि राजनीतिक पहुँचका कारण घटनाको अनुसन्धान प्रभावित भएको आरोपसमेत लाग्दै आएको थियो। यद्यपि उक्त आरोपबारे सम्बन्धित पक्षको आधिकारिक धारणा सार्वजनिक भएको छैन।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिहरू अझै फरार छन्। उनीहरूको खोजी भइरहेको तथा घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी अनुसन्धान र अदालतको प्रक्रियाबाट दोष पुष्टि नभएसम्म पक्राउ परेका व्यक्तिहरूमाथि लागेका आरोपलाई आरोपकै रूपमा लिइनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस