दुई वर्षमा २० टनभन्दा बढी गाँजा बरामद, हजारौँ व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १६, शुक्रबार (१९ घण्टा अघि)
  • ४७ पटक पढिएको
दुई वर्षमा २० टनभन्दा बढी गाँजा बरामद, हजारौँ व्यक्ति पक्राउ

रौतहट ,१६ असोज।  सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकको गागन खोलाको पुलबाट सशस्त्र प्रहरी बलले ११ क्वीन्टलभन्दा बढी गाँजा बरामद गरेको घटना मधेश प्रदेशमा ठूलो परिमाणमा भइरहेको प्रतिबन्धित गाँजा ओसारपसारको पछिल्लो उदाहरण बनेको छ ।

सशस्त्र प्रहरीले जनाए अनुसार विशेष सूचनाका आधारमा राति करिब साढे १२ बजे बा १४ च २९४ नम्बरको बोलेरो र स ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकललाई पछ्याइएको थियो ।

सुरक्षाकर्मीको गाडी देखेपछि चालक तथा अन्य व्यक्ति सवारीसाधन छाडेर फरार भएका थिए । त्यसपछि २६ वटा बोरामा राखिएको ११ क्वीन्टल २ किलो ६ सय ५५ ग्राम अर्थात् १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशका आठ जिल्लाबाट ८ हजार ५ सय ४० किलो ९ सय ५० ग्राम गाँजा बरामद भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा बरामद परिमाण बढेर १२ हजार ३ सय ९१ किलो ६ सय ६ ग्राम पुगेको थियो । दुई आर्थिक वर्षको तथ्यांक जोड्दा प्रदेशबाट २० हजार ९ सय ३२ किलो ५ सय ५६ ग्राम अर्थात करिब २०.९३ टन गाँजा बरामद भएको देखिन्छ । यस अवधिमा लागूऔषधसम्बन्धी घटनामा आर्थिक वर्ष २०८०/८१ मा १ हजार १०४ जना पक्राउ परेका थिए भने ७९७ वटा मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०८१/८२ मा ८३६ जना पक्राउ परेका र ५८५ वटा मुद्दा दर्ता भएको जनाइएको छ । मधेशमा पछिल्ला वर्षमा ठूलो परिमाणमा गाँजा बरामद हुने जिल्लामध्ये सप्तरी अगाडि देखिएको छ । सार्वजनिक प्रहरी विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा सप्तरीबाट करिब ६ हजार १० किलो गाँजा बरामद भएको थियो ।

साउनदेखि चैतसम्मको अवधिमा मात्रै ६ हजार २४८ किलो गाँजा बरामद भएको र ३२ जना पक्राउ परेको विवरणसमेत सार्वजनिक भएको छ । त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बाट तीनवटा सवार ीसाधनबाट ३ हजार ३ सय ३२ किलो ४ सय ६० ग्राम गाँजा बरामद भएको थियो । सवारीसाधनका चालक भने फरार भएका थिए । यसअघि सप्तरीकै राजगढ क्षेत्रमा करिब १७ क्वीन्टल गाँजा बरामद भएको थियो ।

प्रहरीले जनाए अनुसार पहाडी क्षेत्रबाट ल्याइएको गाँजा सप्तरीमा भण्डारण गरी सीमावर्ती बाटो हुँदै भारत लैजाने प्रयास हुने गरेको पाइएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ मिलनचोकमा प्रहरीले २०८१ जेठमा दुईवटा घरमा खानतलासी गर्दा १ हजार ६ सय १२ किलो ८ सय ५० ग्राम गाँजा बरामद गरेको थियो ।

घरका विभिन्न कोठामा ड्रम तथा बोरामा लुकाएर राखिएको गाँजासँगै च्याप्ने मेसिनसमेत बरामद भएको प्रहरीले जनाएको थियो । यस घटनाले गाँजा सीमाबाट तत्काल पार गराउने मात्र नभई मधेशका विभिन्न स्थानमा भण्डारण गरेर राख्ने गरेको अवस्थासमेत देखाउँछ । सिरहाको लहान, गोलबजार, मिर्चैया र सुखीपुर क्षेत्रमा गाँजा ओसार पसारका घटना पटक–पटक सार्वजनिक हुँदै आएको छ ।

लहान नगरपालिका–३ बाट पिकअपमा फलफूलका क्रेटभित्र लुकाइएको ६५२ किलो गाँजा बरामद गरी तीन जना पक्राउ गरिएको थियो । पछिल्लो सुखीपुर घटनामा भने एक टनभन्दा बढी गाँजा बरामद भएको छ । ठूलो परिमाणका घटनामा चालक तथा सहयोगीहरू सवारीसाधन छाडेर फरार हुने प्रवृत्तिले गाँजा कारोबारको मुख्य सञ्जालसम्म पुग्नु सुरक्षा निकायका लागि चुनौती बनेको छ ।

प्रहरीले जनाए अनुसार मकवानपुर, सिन्धुलीलगायत पहाडी क्षेत्रबाट गाँजा ल्याएर मधेशका सीमावर्ती जिल्लामार्फत भारतीय बजारतर्फ लैजाने प्रयास हुने गरेको छ ।

पक्राउ परेकाहरूको बयानका आधारमा भारतीय सीमावर्ती बजार गाँजाको प्रमुख गन्तव्य हुने गरेको प्रहरीको भनाइ छ । खुला नेपाल–भारत सीमा, ग्रामीण तथा वैकल्पिक सडकको प्रयोग र सीमावर्ती क्षेत्रमा हुने आवतजावतका कारण गाँजा नियन्त्रण चुनौतीपूर्ण बनेको छ । दुई वर्षमा २०.९३ टनभन्दा बढी गाँजा बरामद भएको तथ्यांकले देखाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस