दशैं तिहार सुरक्षामा मधेशमा ७ हजार प्रहरी खटिँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २२, बिहिबार (१६ घण्टा अघि)
  • ५७ पटक पढिएको
दशैं तिहार सुरक्षामा मधेशमा ७ हजार प्रहरी खटिँदै

रौतहट,२२ असोज।  दशैं, तिहार र छठ पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन मधेश प्रदेश प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेशका आठवटै जिल्लामा गरी ७ हजार २२९ प्रहरी परिचालन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार असोज २९ देखि कात्तिक ३० गतेसम्म सञ्चालन हुने सुरक्षा योजनाअन्तर्गत १ हजार ५११ वटा ड्युटी व्यवस्थापन गरिनेछ । जिल्लागत रूपमा धनुषामा सबैभन्दा धेरै १ हजार ५९९ प्रहरी परिचालन हुनेछन् भने सिरहामा ६५१ प्रहरी खटाइनेछ ।

त्यसैगरी पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७ र सप्तरीमा ८५७ प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वको समयमा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले क्विक रेस्पोन्स टिम (क्यूआरटी), स्ट्राइकिङ टोली, मोबाइल तथा पैदल गस्ती र ट्राफिक चेकिङलाई सक्रिय बनाउनेछ ।

संवेदनशील स्थानमा पिकेट टोली परिचालन गर्नुका साथै राजमार्गमा यात्रुको सहजताका लागि स्कर्टिङ र सहायता कक्षसमेत सञ्चालन गरिनेछ । खुला सीमा क्षेत्रका कारण चाडपर्वमा आवागमन बढ्ने भएकाले तस्करी, चोरी र अवैध सामानको ओसारपसार नियन्त्रणमा विशेष निगरानी राखिने प्रहरीले जनाएको छ ।

सीमा नाकामा सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउन हेल्प डेस्कको व्यवस्था पनि गरिनेछ । धार्मिक तथा पर्यटकीय स्थलमा हुने भीडलाई मध्यनजर गर्दै चोरी, लुटपाट र मानिस हराउने घटना रोक्न सुरक्षाकर्मी परिचालन गरिनेछ ।

छठ पर्वका बेला नदी, पोखरी तथा जलाशयका घाटमा हुने भीडका कारण डुब्ने, डुबान तथा अन्य दुर्घटनाको जोखिमलाई समेत सुरक्षा व्यवस्थापनमा समेटिएको छ । प्रहरीले चाडपर्वका बेला हुन सक्ने जुवा–तास, अवैध सट्टेबाजी, पटका तथा आतिशबाजीबाट हुने आगलागी, मदिराका कारण हुने झैझगडा, घरेलु हिंसा, पाकेटमारी, चोरी र लुटपाटलाई प्रमुख चुनौतीका रूपमा लिएको छ ।

त्यस्तै सामाजिक सञ्जालबाट गलत सूचना तथा अफवाह फैलाएर सामाजिक सद्भावमा असर पार्ने गतिविधिमाथि समेत निगरानी गरिनेछ ।

सुनचाँदी पसल, बैंक तथा बढी नगद कारोबार हुने क्षेत्रमा चोरी र डकैती रोक्न थप सुरक्षा व्यवस्था मिलाइने प्रहरीले जनाएको छ । चाडपर्वका क्रममा अवैध मदिरा, लागुऔषध तथा प्रतिबन्धित वस्तुको कारोबार, कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरी अनुगमनलाई पनि तीव्रता दिइनेछ ।

प्रदेश प्रहरीका अनुसार सुरक्षा योजनाअन्तर्गत नियमित ड्युटीमै ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन् । अन्य जनशक्तिलाई कमाण्ड पोस्ट, संयुक्त गस्ती, सादा पोशाकमा सूचना संकलन तथा आवश्यकताअनुसार आकस्मिक सुरक्षा परिचालनमा प्रयोग गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस