निजगढमा कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २२, बिहिबार (१२ घण्टा अघि)
  • ५२ पटक पढिएको
निजगढमा कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

बारा,२२ असोज।  बारा जिल्लाको निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्ले कुटपिट गरेको भनिएकी एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुकुमायालाई उनका ५५ वर्षीय श्रीमान् विजय मोक्तानले घरायसी विवादका क्रममा लहराको टुक्राले कुटपिट गरेका थिए।

कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायालाई स्थानीय मेडिकलबाट चिकित्सक बोलाई घरमै जाँच तथा औषधि उपचार गराइएको थियो। त्यसपछि उनी सोही दिन राति करिब ८ बजे खाना खाएर सुतेकी थिइन्। प्रहरीका अनुसार भोलिपल्ट बिहान करिब ४ बजे विजयले सुकुमायालाई उठाउन खोज्दा उनी नउठेपछि मृत्यु भएको थाहा भएको थियो।

घटनाबारे बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी गराइएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको जनाएको छ। घटनामा संलग्न भएको आरोपमा विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस