बारामा बस दुर्घटना, ईभी चालक घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २८, बुधबार (३ घण्टा अघि)
  • ५४ पटक पढिएको
बारामा बस दुर्घटना, ईभी चालक घाइते

रौतहट,२८ असोज। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ उनासी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई बसको ठक्करबाट ईभी चालक घाइते भएका छन् ।

बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते भएका हुन्। उनको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनको निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार काँकडभिट्टाबाट नेपालगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बस उनासी पुलमा अगाडिबाट अर्को गाडी आएपछि साइड लगाएर रोकिएको थियो। सोही दिशाबाट पछाडि आउँदै गरेको कोशी प्रदेश १–०१–००१ ख ४८६५ नम्बरको बसले रोकिराखेको मधेस प्रदेश ०४–००१ ज ०१६० नम्बरको ईभीलाई पछाडिबाट ठक्कर दिएको थियो।

पछाडिबाट बसले ठक्कर दिएपछि ईभी अगाडि रोकिएको बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ईभीमा क्षति पुगेको छ भने अगाडिको बसमा सामान्य क्षति भएको छ।

दुर्घटनामा दुवै बसका चालक सकुशल रहेका छन्। बागमती प्रदेशको बस चालक झापाको मेचीनगर नगरपालिका–७ निवासी ३४ वर्षीय भरत निरौला हुन्। उक्त बसमा यात्रुहरू रहेकाले आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, कोशी प्रदेशको बस चालक झापाको कमल गाउँपालिका–६ निवासी करिब ४७ वर्षीय डम्बरकुमार ताजपुरिया पनि सकुशल रहेका छन्। उक्त बस र चालकलाई हाल इलाका ट्राफिक प्रहरी कार्यालय निजगढले नियन्त्रणमा राखेको छ।

दुर्घटनापछि असई अनराजेश्वरप्रसाद चौरसियाको कमान्डमा सात जना ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान तथा थप प्रक्रिया अघि बढाएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस