फरार अभियुक्त बाबु थापा हतियारसहित पक्राउ, विभिन्न मुद्दामा थिए आरोपित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २९, बिहिबार (४ घण्टा अघि)
  • ३८ पटक पढिएको
फरार अभियुक्त बाबु थापा हतियारसहित पक्राउ, विभिन्न मुद्दामा थिए आरोपित

रौतहट,२९असोज।  सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश राणबहादुर बमको हत्या प्रकरणमा संलग्न रहेका फरार प्रतिवादी सर्लाहीबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले बागमती नगरपालिका–१ का ४८ वर्षीय मेघराज भन्ने बाबु थापालाई उनकै घरबाट पक्राउ गर्न सफल भएका हुन् ।

सर्लाही प्रहरीले जारी गरेको प्रेस नोट अनुसार, विशेष सूचनाका आधारमा आज विहान थापा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी बेदप्रसाद गौतमले बताए ।

थापाको साथबाट दुई थान पेस्तोल, तीन थान म्यागजिन, १५ राउन्ड गोली, दुई थान मोबाइल र नगद ५ लाख १७ हजार ९९२ रुपैयाँ बरामद गरिएको उनले भने । बरामद भएका पेस्तोल मध्ये एउटामा ‘मेड इन युएसए’ लेखिएको जानकारी दिदै डिएसपी गौतमले पक्राउ परेका थापालाई हिरासतमा राखेर उनी माथि थप अनुसन्धान भइरहेको बताए ।

थापाविरुद्ध यसअघि हातहतियार तथा खरखजाना, सार्वजनिक शान्ति विरुद्धको कसुर, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराध र चोरी लगायतका ११ वटा मुद्दामा सर्वाधिक खोजीका सूचीमा रहेको डिएसपी गौतमले जानकारी दिए ।

तत्कालिन न्यायाधिश बमको हत्या गरेको आरोपमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतबाट उनलाई २० वर्ष कैद सजाय तोकिएको जारी प्रेस नोटमा उल्लेख छ ।

उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेको अवस्थामा जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २३ गते कारागारबाट फरार भएको र त्यसपछि प्रहरीले उनको सर्वाधिक रुपमा खोजी गर्दै आएका थिए ।
कारागारबाट फरार भएको एक वर्षभन्दा बढी समयपछि उनी सर्लाही स्थित आफ्नै घरबाट पक्राउ परेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस