रौतहट । फाल्गुन ११ गते
आफ्नो मातृभाषाप्रति लगाव हुनु स्वाभाविक हो । यसै लगावले म बज्जिका भाषाको लागि केही न केही गरिरहेको हुन्छु । यो सबै गर्न लगाउने मेरो लागि उर्जा र उत्साहको श्रोत मेरो अग्रज सञ्जय साह ‘मित्र’ हुनु हुन्छ । आफ्नो भाषामा रहेको लोकसंस्कृति र लोकगीत, कथा, कहानीको जर्गेना हुनु पर्छ भन्ने लागेर ‘मित्र’ सरको प्रेरणाबाट तीन वर्ष पहिले सरले नै बज्जिका साहित्य संगमको साहित्यिक गोष्ठीहरुमा सहभागी हुन थालेकोले राम्रो संगी–साथी पाएर मैले पनि केही न केही रचना गर्न शुरु गरेँ । यसै गर्दै जाँदा केही फुटकर रचनाहरु पनि राष्ट्रियस्तरका साहित्यिक पत्रिकाहरुमा प्रकाशन हुन थाल्यो जसबाट हौसला बढ्दै जाँदा बितेको वर्ष २०७६मा ‘लटरपटर’ विविध रचनावली नामको एउटा कृति नै बज्जिका साहित्य संगम रौतहटको प्रकाशन बज्जिका भाषामा प्रकाशित भयो । यसरी ‘मित्र’ सरको उत्साहले बज्जिकामा काम गर्ने हौसला बढदै छ । यसै क्रममा एक महिना पहिले नै यस २०२१ को अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा हाम्रो छिमेकी देश भारतको बिहार राज्यको राजधानी पटनामा हुने “बज्जिका वाषर््िाकी २०२१” कार्यक्रमको लागि नेपालबाट पनि बज्जिका भाषामा सक्रिय रुपमा काम गरिरहेकाहरुलाई बोलाइने भएकाले यो खबर गोरखापत्र दैनिकका बज्जिका भाषा पृष्ट संयोजक सञ्जय साह ‘मित्र’जीबाट जानकारी पाउँदा खुशी लाग्यो । यसमा आयोजक संस्थाबाट मित्र सरको नेतृत्वमा नै नेपालको टोली बोलाउने कार्यक्रम रहेकाले हामी आफ्ना केही साथीहरुसँग छलफल गर्दा पटना जानका लागि ‘मित्र’ सरको नेतृत्वमा सञ्जय साह ‘सुदामा’ र म पनि जाने निधो भयो । यो कार्यक्रम हुने मिति हुन्छ अंग्रेजी क्यालेन्डर अनुसार हरेक सालको फेब्रुअरी २१ तारिख । यस वर्ष नेपाली क्यालेन्डर अनुसार फागुनको ९ गते हुने भएमा हामी निश्चित भई पटना कुन साधनले जाने भने विचार गर्दा मैले नै बाइकबाटै जाने प्रस्ताव गरेमा सबै जना सहमत भयौं । पटना जानको लागि हामी ८ गते शनिबार बिहानै गरुडाबाट निस्किएर सर्लाहीको सुदामा सञ्जय साह ‘सुदामा’को साथ हुदै पारिको बिहार राज्यको सितामढी जिल्लाको बसबिट्टा बजारबाट, शिवहर, मुज्जफरपुर, बैशाली जिल्ला हुदै पटना पुग्ने हाम्रो कार्यक्रम तय भयो ।
विश्व मातृभाषा दिवसको अवसरमा हाम्रो देशमा पनि विभिन्न संघ–संस्थाहरुको कार्यक्रम हुने गर्दछ । यसका लागि सबभन्दा ठूलो कार्यक्रम नेपाल सरकारको प्रज्ञा प्रतिष्ठानले नेपाल भित्र बोलिने विभिन्न भाषाहरुको एउटै मञ्चमा सबैलाई सहभागी गराएर कार्यक्रम प्रत्येक साल हुने गर्दछ । यस पालिको लागि बज्जिका भाषाबाट सर्लाही जिल्लाको गोडैता नगरपालिकामा पर्ने रामवन निवासी पूर्वमा शिक्षक हँुदै श्रोतव्यक्तिबाट सेवा निवृत हुनु भएका श्रो रामचन्द्र महतो कुश्वाहा सरको कविता वाचनको लागि छनौटमा परेको जानकारी हँुदा पनि मन धेरै प्रफुलित भयो । छोटो समयमा कुश्वाहा सर धेरै कुतिहरु रचना गर्न सफल हुनु भएको छ । जसमध्ये केही प्रकाशनको क्रममा छन् । कुशवाहा सरका कृतिहरु प्रकाशन भएपछि बज्जिका भाषाको लागि ठोस उपलब्धिको काम हुनेमा हामी विश्वस्त छौँ । उनी कर्मशील र निष्ठावान नागरिक हुन् । बज्जिका मातृभाषाप्रति उनको समर्पण स्तुत्य छ ।
हाम्रो पूर्व निधारित कार्यक्रम अनुसार पटना जान आउनका लागि एक मित्रको सहयोगमा भारतीय नम्बरको बाईक लिने तार–तम्य मिलायौं । बिहान ८ बजे नै निस्किने पहिले सल्लाह भएको थियो तर सुदामाजीले खानाको प्रस्ताव गरेपछि थप अलमल हुने सम्भावना रहेको र प्राविधिक रुपमा पनि असहज हुने देखिएकोले बरु आ–आफ्नै घरबाट खाना खाएर निस्कने सल्लाह भएको थियो । आफ्नै घरबाट खाएर बिहान ९ बजे यात्रा आरम्भ गर्ने सल्लाह भए बमोजिम म ९ बजे ‘मित्र’ सरलाई सम्पर्क गर्दा वहाँको परिवारमा धर्मपत्नी रेणु कुमारी गुप्ता जो हाम्रो बज्जिका साहित्य संगम, रौतहटको उपाध्यक्ष हुनु हुन्छ, मानव अधिकार तथा शान्ति समाजको ‘श्री नारायण दाहाल स्रष्टा सौगात २०७७’बाट गत कात्तिकमा सम्मानित हुनु हुन्छ र यस पुरस्कारको इतिहास उहाँबाट नै सुरु भएको छ, लाई अलिक सञ्चो थिएन । मित्रजीको परिवारका अन्य सदस्यले पनि औषधि सेवन गरिरहेको अवस्था मलाई जानकारी थियो । सम्भवतः मित्रलाई अलमल हुने अवस्था थियो र मित्र नै नगए हाम्रो यात्रा के हुने भन्ने प्रश्न पनि मनमा उब्जिरहेको थियो । निर्धारित समयभन्दा केही ढिलो हुँदै गर्दा यात्रा आरम्भ गर्ने सम्पूर्ण तयारी भइसकेको थियो । मित्र सर तयारी गर्दै गर्दासम्म तपाई नेपाल प्रेस एण्ड कम्प्युटरबाट ‘बज्जिकार्पण’को २५औ अंक लिएर आउनुहोस् । त्यसको लोकार्पण बज्जिकाका महान व्यक्तित्व डा. अवधेशवर अरुणज्यूको हातबाट हुने निश्चित भएको छ भनेर बताएपछि बज्जिका भाषाका अधिकांश कृति तथा बज्जिकार्पण साहित्यिक पत्रिका प्रकाशन गरेर निरन्तर सहयोग गर्ने नेपाल कम्युटर सेन्टर गरुडा पुगें । त्यहाँ नेपाली एक हजार रुपैया तिरेर उधारोमा पत्रिका बोकी यात्रालाई अगाडि बढाएँ । ‘मित्र’ सरको पारिवारिक अवस्था घर बाहिर जाने नहुदाँ हुदै पनि वहाँ र म एउटा बाईकमा सवार भएर पटनाको लागि गरुडाबाट करिब पौने दश बजे प्रस्थान गर्यौं । हामी वाग्मती नदी धर्मपुरको पुलबाट सर्लाही सुदामामा हामी करिब पौने एघार बजे पुग्दा सञ्जय साह ‘सुदामा’जी हाम्रो बाटो कुरी बस्नु भएकोले हामी छिटै बसबिट्टा बजार पुग्यौँ. ।
बसबिट्टा बजारमा म, ‘मित्र’ सर र ‘सुदामा’ले मोबाईलमा भारतीय सिमकार्ड लगाएर एक्टिभ गराएर मेरो बाईकलाई पनि मिस्त्रीबाट सामान्य परीक्षण गराई बारह बजे अगाडि नै त्यहाँबाट हिँड्यौँ । बसबिट्टाबाट ढेङ हँुदै ससौलाबाट शिवहर जाने बाटो लाग्यौं । एक बजे हामी शिवहर जिल्लामा प्रवेश गर्यौ केही बेरमा हामी एकछिन बाईक रोकेर तिनै जना पानी खाएर फेरी बाटो लाग्यौ । शिवहर अब तिन किलोमिटर मात्र बाँकी छ तर यहाँ हेर्नुपर्ने महत्वपूर्ण कुराहरु के के हुन् भन्ने थाहा छैन । हामी यात्रा गर्दा यात्राका अन्य महत्वपूर्ण सामग्रीहरुको पनि दर्शनलाभ होओस् भन्ने चाहना राखेका हुन्छौँ । पहिले पनि यही हुँदै आएको छ ।
सर्लाहीका एकजना बज्जिका साहित्यकारबाट सुनेका हुन्छौँ – शिवहरमा परशुराम आश्रम छ । धनुषयज्ञ सकिएपछि जनकपुरमा आफ्ना अभिभारा रामलाई सुम्पेर परशुराम यत्तैतिर आएका थिए रे भन्ने विश्वास गरिन्छ । त्यो आश्रम कहाँनेर छ भन्ने कुराको विषयमा सामान्य सोधखोज गर्दछौँ । पानी किन्ने पसलका साहुलाई केही पनि जानकारी रहेनछ । यसै गरी घुम्ती पसल थापेर बेपार गर्नेलाई पनि जानकारी रहेनछ । सर्वसाधारणलाई थाहा नभएको कुरा गुगललाई त अवश्य नै जानकारी हुन्छ । त्यहीँ भएर गुगललाई पनि सोध्ने काम गरेँ तर शिवहर जिल्लामा नभएर यहाँबाट पाँच घन्टाको दुरी रहेको भन्ने जानकारी गुगलले दिएपछि अलमल नगरीकन बाटो नाप्नतिर लाग्दछौँ । नभन्दै एकै छिनमा हामी शिवहर बजारमा प्रवेश गर्यौँ । (क्रमशः आगामी अंकमा जारी)