युवालाई होटल व्यवास्थापन तालिम

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १५, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
युवालाई होटल व्यवास्थापन तालिम

कोथिना मिठो छ होटल तालिम केन्द्रले मुलुकको पर्यटन प्रवद्र्धनका लागि ११८ युवालाई होटल तालिम प्रदान गरेको छ । होटल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेण्डर तथा वेटर तालिम सम्पन्न गरेको हो । तालिम सम्पन्नसँगै विद्यार्थीलाई बिहीबार प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले कोभिड–१९ ले धरासयी बनेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाली खानालाई विश्वमाझ फैलाउन नेपाली सेफको महत्वपूर्ण भूमिका रहेको छ”, उहाँले भन्नुभयो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रशिक्षक समिक शर्माले विद्यार्थीले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्ता तालिमले स्वदेश तथा विदेशमा रोजगारीको सम्भावनामा वृद्धि हुने उहाँको भनाइ थियो ।
तालिमका प्रशिक्षक प्रकाश भण्डारीले नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको भन्दै यस क्षेत्रलाई अगाडि बढाउन यस्ता तालिमले उत्पादन गरेको जनशक्तिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । तालिम दुईदेखि छ महिनासम्म सञ्चालन गरेको थियो ।
एशोसिएशन अफ नेपाल आकीद्वारा सन् २०१२ मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित उक्त केन्द्रले हालसम्म तीन हजारभन्दा बढी युवालाई होटल तालिम प्रदान गरिसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले जानकारी दिनुभयो । तालिममा आर्थिक अवस्था कमजोर भएका ७५ विद्यार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको पोखरेलले बताउनुभयो ।
काठमाडौँ, १५ असोज (रासस) ः

ताजा अपडेट

खोजी गर्नुहोस