
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश समितिको सभापतिसहितका उम्मेदवार तय गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ ।पौडेल समूहका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई नै प्रदेश समितिको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको हो ।बुधबारबाट सुरु हुने प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंसिर १७ गते मनोनयन दर्ताो कार्यक्रम छ । तर कांग्रेसमा संस्थापन र संस्थापनइतर दुबै समूहले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।पौडेल समूहले प्रदेश १ मा प्रदेश समितिका उम्मेदवार तय गर्न केन्द्रीय सदस्यहरु बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, सरिता प्रसाईं र गुरुराज घिमिरेलाई जिम्मेवारी दिएको छ ।प्रदेश २ मा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु रामकृष्ण यादव र किरण यादवले प्रदेश उम्मेदवार टुंगो लगाउने जिम्मा पाएका छन् ।त्यस्तै बागमती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, केद्रीय सदस्यद्वय डा.रामशरण महत, अर्जुननरसिंह केसी र गगनकुमार थापालाई दिइएको छ भने गण्डकी प्रदेशको उम्मेदवार टुंग्याउने जिम्मा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियारलाई दिइएको छ ।लुम्बिनी प्रदेश समितिका सदस्य टुंग्याउने जिम्मा केन्द्रीय सदस्यहरु दीपक गिरी र चन्द्र भण्डारीले र कर्णाली प्रदेशमा केन्द्रीय सदस्य हृदयराम थानीले उम्मेदवार तय गर्नेछन् । केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु र बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश कमिटीका लागि संस्थापइतर समूहबाट उम्मेदवार तय गर्नेछन् ।संस्थापन समूहले यसअघि नै सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई नै प्रदेश अधिवेशनका लागि उम्मेदवार तय गर्ने जिम्मा दिइसकेको छ । संस्थापन समूहबाट गण्डकी प्रदेश सभापतिका लागि अर्जुन जोशी, बागमतीबाट इन्द्र बानियाँ र लुम्बिनीमा भरत शाहले उम्मेदवारी घोषणा गरिसकेका छन् ।प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिममा भने संस्थापन समूहले पनि उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
