सहकारीको मल निजी पसलको गोदाममा फेला परेपछि माधोपुरका किसान आन्दोलित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर २३, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
सहकारीको मल निजी पसलको गोदाममा फेला परेपछि माधोपुरका किसान आन्दोलित


ओम प्रकाश यादव
मंसिर २२ गते, रौतहट ।
धानबाली भित्रयाएपछि रौतहटका किसानलाई यतिखेर हिउँदे बाली अर्थात तोरी र गहु छर्ने चटारो भएको छ । तर रासायनिक मलखादको अभावमा किसानहरुलाई तोरी तथा गहु छर्न समस्या भइरहेको छ ।
सहकारी संस्था मार्फत सरकारले किसानलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड मार्फत आपुर्ति गर्ने गरी स्थानीय तहको सिफारीसको आधारमा किसानलाई सहुलियत दरमा वितरण गर्न सहकारी संघ संस्थाहरुलाई अनुदानमा मलखाद दिने गरेको छ ।
तर पछिलो समय किसानलाई सहुलियत दरमा उपलब्ध गराउन अनुदानमा पाउने रासायनिक मल रौतहटका सहकारी संस्थाहरुले किसानलाई नदिई कमिसन लिएर अन्य निजी पसलमा विक्रि वितरण गर्न थालेपछि किसानहरु मारमा परेका छन ।
किसान मलखाद नपाएर छटपटाइ रहेको अवस्थामा रौतहटका एक सहकारी संस्थाले अनुदानमा पाएको रासायनिक मल अन्यत्र निजी पसलमा विक्रि गरेको फेला परेपछि किसानहरु विरोध प्रदर्शन गरेका छन ।
जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा नेकपा माओवादी केन्द्रका मेयरका प्रत्याक्षी देवनारायण भगत विनका छोरा धिरेन्द्र भगत विनले सञ्चालन गरेको आयुष कृषि सहकारी संस्थाले किसानलाई सहुलियत दरमा वितरण गर्न भनी सरकारबाट अनुदानमा पाएको मलखाद किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यले अन्यत्र विक्रि गरेको भन्दै किसानहरु आन्दोलित भएका छन ।
सञ्चालक धिरेन्द्र भगतले स्थानीय श्याम बिजभण्डारका सञ्चालक श्याम साहसँग उक्त मलखाद विक्रि गरेको किसानहरुले बताएका छन ।
स्थानीय एक जना किसान राम विनोद यादवले मंगलवार राति ८ बजे श्याम विजभण्डारमा मलखाद किन्न जाँदा त्यसका सञ्चालक श्याम साहले २४ सय पर्ने प्रतिबोरा डिएपी ३ हजार ३ सयमा विक्रि गरेपछि आयुष कृषि सहकारीका सञ्चालक भगतले श्याम विजभण्डारसँग मल विक्रि गरेको पोल खुलेको थियो ।
सञ्चालक भगतको बदमासी एवं लापरवाहीका कारण किसानहरु सस्तोमा पाउने मलखाद चर्को मुल्य तिरेर किन्न बाध्य रहेका छन ।
कृषि सामग्री कम्पनी लेखिएको आयुष सहकारीको ६२ बोरा रासायनिक यूरिया र डिएपी मल श्याम साहको गोदाममा फेला परेको किसानहरु बताएका छन ।
रातिमा चोरेर विक्रि गर्नको लागि साहले गोदाममा मलखाद लुकाएर राखेको रहस्य खुलेको छ ।
आयुष सहकारीका अध्यक्ष धिरेन्द्र भगतले किसानको मलखाद किसानलाई नदिइ कमिसनको भरमा अन्यत्र विक्रि गरेको भन्दै बुधवार विहान सयौंको संख्यामा गएका किसानहरु सहकारी कार्यालय अगाडि नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
किसानको मलखाद विक्रि गरी किसानको पेटमा लातीहान्ने सहकारीका अध्यक्ष भगतलाई हदैसम्मको कार्यवाही गर्नुपर्ने, किसानको भावनासँग खेलवाड गर्ने सहकारी संस्थाको दर्ता खारेज गर्नुपर्ने एवं सरकारले आफुहरुलाई समयमा प्रयाप्त मलखादको व्यवस्था गर्नुपर्ने माग राख्दै किसानहरु आन्दोलनमा उत्रेका छन ।
अनुदानमा पाएको मल अन्यत्र विक्रि गरेको किसानहरुले आरोप लगाएका छन तर आयुष सहकारीका अध्यक्ष धिरेन्द्र भगत विनले आफुले कसैसँग मलखाद विक्रि नगरेको दावी गरेका छन ।
श्याम विजभण्डारलाई किन मल दिएको भनी पत्रकारले प्रश्न सोध्दा उनले यसबारे प्रष्ट बोल्न चाहेका छैनन ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले किसानको लागि सरकारले उपलब्ध गराएको मलखाद अन्यत्र विक्रि गर्ने जुनसुकै सहकारी संस्थाका पदाधिकारीलाई कार्यवाही गर्ने बताएका छन ।
मलखादको अभावमा किसानलाई खेती गर्न निकै समस्या भइरहेको बताउँदै सिडियो शाहीले समयमा तुरुन्त प्रयाप्त मल उपलब्ध गराउन आफु प्रयासरत रहेको बताए ।
माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवले विहिवार आफु यसबारे बुझने र किसानको मलखाद अन्यत्र विक्रि गरेको प्रमाणित भए आयुष कृषि सहकारी संस्थाको पदाधिकारीलाई कडा कार्यवाही गर्ने बताएका छन ।
निजी विजभण्डारका सञ्चालकहरुले सहकारीबाट सस्तो मुल्यामा खरिद गरी प्रतिबोरा ८ सय ५० रुपैया मुल्य पर्ने यूरिया १ हजार देखी १५ सयसम्म र प्रतिबोरा २४ सय रुपैया मुल्य पर्ने डिएपी खाद ३ हजार ३ सय देखी लिएर ४ हजारसम्ममा विक्रि वितरण गरिरहेका छन ।
तोरी र गहु छर्ने मुख्य सिजनमै आएर अहिले जिल्लामा चारैतिर मलखादको चरम अभाव भएको र सहकारीमा समेत मल पाउन छाडेपछि किसानहरु बढी मुल्य तिरेर निजी पसलबाट मल किन्न बाध्य भएका छन ।
यसैविच हिउँदे बालीको तयारीमा जुटेका रौतहटेली कृषक यस पटक पनि मल अभावका कारण समस्यामा परेका छन् । तोरी तथा गहु छर्ने तयारीमा रहेका किसान रासायनिक मलको चरम अभाव झेलिरहेका छन् । बाली छर्ने बेला घर्किन लाग्दा पनि मल नपाउदा किसानको पिरलो बढ्दै गएको छ ।
यसअघि धानका लागि समेत पर्याप्त मल नपाएका कृषक अहिले फेरि हिउँदे खेतीका लागि पनि उही समस्या झेलिरहेका छन् । खेतबारीका अन्य समस्याभन्दा मलकै कारण सकस खेपिरहेका किसानले अहिले तोरी र गहुँ छर्न पाएका छैनन् ।
किसानलाई चाहिएको बेला समयमा मल नपाउने, र पाए पनि थोरै मात्र पाउने जस्ता समस्या बर्षेनी दोहोरिए पनि यसबारे सरकार तथा आपूर्तिकर्ता अन्य निकाय गम्भीर छैनन् । यही समस्याका कारण उत्पादनमा पनि ह्रास आइरहेको छ । मल अभाव दीर्घकालिन समाधान खाजेर आपूर्ति सहज कहिले बनाइन्छ ? किसानको एउटै प्रश्न छ ।

ताजा अपडेट

खोजी गर्नुहोस