आफुले सुविधा दिदैन, अरुले दिए रोक्छ रिलायन्स चिनिमिल, किसानले बुझाए सिडियोलाई ज्ञापनपत्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ २४, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
आफुले सुविधा दिदैन, अरुले दिए रोक्छ रिलायन्स चिनिमिल, किसानले बुझाए सिडियोलाई ज्ञापनपत्र

रौशन चौधरी ।

माघ २४ गते, रौतहट।
आफू अनुकूल उखु बेच्न नपाउने भएपछि बाराका उखु किसान मर्कामा परेका छन्।

बाराका उखु उत्पादक किसानहरूले उत्पादन गर्ने उखु वर्षौंदेखि रौतहटको उद्योगमा बेच्दै आएको अवस्थामा एक्कासी प्रशासनले बाराको उखु रौतहटको उद्योगमा बिक्री गर्न नपाउने भन्दै प्रतिबन्ध लगाएपछि उखु किसान समस्यामा परेका छन्।

बाराको चीनी उद्योग भन्दा रौतहटको चीनी उद्योगमा उखु बिक्री गर्दा बढी फाइदा हुने भएको भन्दै बाराका किसानहरू रौतहटको कटहरिया नगरपालिका – ९ मा अवस्थित बाबा वैजुनाथ सुगर मिलमा उखु बेच्दै आएका थिए तर जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै बारा जिल्लामा उत्पादन भएको उखु बारा कै उद्योगमा बिक्री गर्ने र रौतहटमा बिक्री गर्न नपाउने भनी बन्देज लगाएको छ।

माघ २३ गतेदेखि प्रशासनले बाराको उखु रौतहटमा बिक्री गर्न रोक लगाएपछि यहाँका उखु उत्पादक किसानहरू उखु बिक्री गर्न नपाउँदा समस्यामा पर्नुका साथै निकै चिन्तित भएका छन्।

जिल्ला प्रशासन कार्यालयको सो निर्णयले समस्यामा परेका बाराका उखु किसानहरुले आफू अनुकूल रौतहटको उद्योगमा उखु बिक्री गर्न पाउनुपर्ने माग राख्दै बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज सापकोटालाई मंगलबार ज्ञापनपत्र बुझाएका छन्।

किसानले उत्पादन गरेको उखु आफू अनुकूल आफूलाई बढी फाइदा हुने अर्थात् सहज हुने जुनसुकै जिल्लाको उद्योगमा बेच्न पाउँछन् तर प्रशासनले बलजबर्जस्ती बारा बाहेक अन्य जिल्लामा उखु बिक्री गर्न नपाउने गरी बन्देज लगाएर किसानमाथि अन्याय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बाराको भन्दा रौतहटको बाबा वैजु नाथ सुगर उद्योगमा उखु बिक्री गर्दा प्रति क्विन्टल ८० रुपैयाँ बढी किसानलाई फाइदा हुनेगरेको र यस उद्योगले एकसातामै भुक्तानी समेत दिने गरेकोले बाबा बैजुनाथ उद्योगलाई उखु बिक्री गर्दा लाभ पनि बढी हुने गरेको र समयमै भुक्तानी समेत पाउने गरेको विज्ञप्तिमा जनाइएको छ।
आफूहरुलाई पहिला कै जस्तो अवस्थामा जुनसुकै ठाउँमा उखु बिक्री गर्न पाउने वातावरण बनाइदिन भन्दै किसानहरूले विज्ञप्ति मार्फत जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन्।

तुरुन्त आफूहरुको समस्या समाधान नभए प्रहरी प्रशासन विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी किसानहरूले दिएका छन्।

यता बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले चीनी उद्योग भएको स्थानभन्दा २५ किलोमीटर क्षेत्र भित्रका उखु अन्यत्र बिक्री गर्न नपाउने भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाण्डौले नै परिपत्र जारी गरेकोले मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आफूहरु अन्यत्र उखु बिक्री गर्न बन्देज लगाएको बताएका छन्।
यसैगरी उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले किसानहरू आफूलाई मन् परेको जुनसुकै जिल्ला वा ठाउँमा आफ्ना उखु बिक्री गर्न सकिने बताएका छन्।

उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले किसानलाई मन् परेको अर्थात् उपयुक्त ठाउँमा उखु बिक्री गर्न नपाउने भनी बन्देज लगाएर किसानहरूको हक अधिकारमाथि कुण्ठित गर्ने काम गरेको अध्यक्ष मैनालीले बताए ।
किसानलाई आफ्ना अनुकूल उखु बेच्न नदिने कसैको अधिकार नरहेको बताउँदै उनले किसानलाई अनावस्यक दुःख दिने काम आफूहरुलाई कदापि स्वीकार्य नहुने बताए।

किसानको इच्छा र चाहना अनुसार उखु बिक्री गर्न प्रतिबन्ध लगाएर प्रशासनले किसानलाई दुःख दिने काम गरेको भन्दै उनले प्रशासनले
किसान माथि लगाएको सो प्रतिबन्ध नहटाए आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी उनले दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस