शेरबहादुर देउवा सहित कांग्रेसका ५ नेता चुनावी प्रचारमा निस्किएनन्

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १६, आईतबार (१ घण्टा अघि)
  • ४९ पटक पढिएको
शेरबहादुर देउवा सहित कांग्रेसका ५ नेता चुनावी प्रचारमा निस्किएनन्

काठमाडौं, १७ फाल्गुन। गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि नेपाली कांग्रेस नयाँ नेतृत्वका साथ प्रतिनिधि सभा निर्वाचनमा होमिएको छ । तर वर्तमान संस्थापन पक्ष र यसअघिको संस्थापन पक्षबिचको मनमुटाव पार्टीको चुनाव प्रचार अभियानमा प्रस्ट देखिन थालेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबारसम्म मात्रै प्रचारप्रसार गर्न पाउने समय निर्वाचन आयोगले निर्धारण गरेको छ । आइतबारसम्म पार्टीका उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न निवर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. आरजु राणा देउवा बाहिर निस्किएका छैनन् ।

१४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवालाई विशेष महाधिवेशन गरेर गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पदच्यूत गरेसँगै देउवा पक्षका प्रभावशाली नेताहरू चुनाव प्रचारमा निस्किन नचाहेका हुन् । देउवा फागुन १३ गते राति फलोअप उपचारका लागि भन्दै सिङ्गापुर उडेका छन् ।

यद्यपि चुनावी मैदानमा देखा नपरे पनि यद्यपि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्दै आएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत खड्काले कांग्रेसलाई जिताउन अपिल गरेका छन् । प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा रूख चुनाव चिह्नमा मतदान गर्न उनले फेसबुकमार्फत आग्रह गरेका हुन् ।

निवर्तमान सभापति देउवाकी श्रीमती तथा निवर्तमान केन्द्रीय सदस्य डा. आरजु राणा देउवा भारत भ्रमणमा छिन् । एक सातादेखि भारतका विभिन्न मन्दिरमा पूजाआजा गरिरहेकी उनी निर्वाचनसम्म फर्किन्छिन् कि फर्किन्नन् भन्ने औपचारिक जानकारी दिइएको छैन ।

देउवाको पारिवारिक स्रोतले भने दुवै जना निर्वाचनपछिमात्रै स्वदेश फर्कने जानकारी दियो । ‘उहाँहरू अब फागुन २१ गतेपछि मात्रै नेपाल फर्कनुहुन्छ,’ स्रोतले भन्यो, ‘बदलिएको कांग्रेस नेतृत्वले नै निर्वाचनमा पार्टीलाई जिताउने काम गर्ला नि !’

आरजु विशुद्ध धार्मिक भ्रमणका क्रममा भारत पुगेको स्रोत बताउँछ । तर, देउवाले भने फलोअप उपचारका साथै भ्रमणका क्रममा निर्वाचनपछि कसरी अगाडि बढ्ने भन्नेमा राजनीतिक कुराकानी पनि गर्न सक्ने उनी निकट नेताहरू दाबी गर्छन् ।

तर निवर्तमान कार्यवाहक सभापति खड्काले प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आइतबार अपिल जारी गरे पनि त्यसमा आफू प्रचारप्रसारमा जाने/नजाने र मतदानमा सहभागी हुने–नहुने केही उल्लेख गरेका छैनन् । खड्काको अपिलमा सबैलाई मतदानमा भाग लिन र कांग्रेसलाई जिताउन आग्रह गरिएको छ ।

खड्काको सचिवालयले उनी प्रचारप्रसारमा भाग लिन जाने र नजाने र मतदानमा जाने नजानेबारे केही बताउन चाहेन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि अहिलेसम्म चुनावी प्रचारप्रसारमा निस्किएका छैनन् । काठमाडौँ–१ बाट २०६४ सालमा भएको पहिलो प्रतिनिधि सभा निर्वाचनदेखि ०७९ को निर्वाचनसम्म निरन्तर जितेका सिंह अहिले पनि टिकटका आकाङ्क्षी थिए । टिकट नपाएपछि उनी अहिलेसम्म चुनावी प्रचारप्रसारमा निस्किएका छैनन् । उनको क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका प्रवल थापाले पटकपटक आग्रह गर्दा पनि बाहिर ननिस्किएकाले अब एक दिनका लागि निस्कने सम्भावना नरहेको नेताहरू बताउँछन् ।

उनकी श्रीमती तथा ०७९ मा बालेन्द्र शाहसँग काठमाडौँ महानगरको नगर प्रमुख पदमा प्रतिस्पर्धा गरेकी सिर्जना सिंह भने चुनावी प्रचारप्रसारमा हिँडिरहेकी छन् ।

पूर्वमहामन्त्री तथा नवलपुर–१ बाट उम्मेदवारका आकाङ्क्षी डा. शशांक कोइराला पनि अहिलेसम्म चुनावी प्रचारप्रसारका लागि निस्किएका छैनन् । २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनदेखि ०७९ सम्म त्यही क्षेत्रबाट निरन्तर जित्दै आएका डा. कोइराला अहिलेसम्म नवलपुरमा पनि पुगेका छैनन् । उनी जाने–नजाने अहिलेसम्म निश्चित छैन । डा. कोइरालाको सचिवालयले भने यसबारे केही बताउन चाहेन ।

आफूहरूको असहमतिबिच भएको विशेष महाधिवेशनलाई देउवा समूह र डा. कोइराला समूहले विधानविपरीत भनेको छ । देउवा र खड्काले विशेष महाधिवेशनलाई विधानविपरीत भन्दै दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । आफूहरूले दायर गरेको रिट विचाराधीन भएकाले पनि नेताहरू प्रचारप्रसारमा नगएका हुन् ।

देउवा, खड्का, सिंह, डा.कोइराला र डा.राणा चुनावी प्रचारप्रसारमा नगए पनि विशेष महाधिवेशनको विपक्षमा रहेका रमेश लेखक, दीपक खड्का, बालकृष्ण खाणसहितका नेताहरू चुनावी प्रचारप्रसारमा गृहजिल्लामा छन् । उनीहरू पार्टीका उम्मेदवारहरूसँग घरदैलोमा र चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस