कांग्रेसका तीन कार्यकर्ता पक्राउ मतदातालाई रकम वितरण गरेको आरोपमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १६, आईतबार (२ घण्टा अघि)
  • ६५ पटक पढिएको
कांग्रेसका तीन कार्यकर्ता पक्राउ मतदातालाई रकम वितरण गरेको आरोपमा

मोरङ, १७ फाल्गुन। प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई नगद वितरण गरिरहेको आरोपमा नेपाली कांग्रेसका तीन कार्यकर्ता पक्राउ परेका छन्। मोरङको रतुवामाई नगरपालिका क्षेत्रबाट नगदसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले शनिबार राति करिब ९:३० बजे रतुवामाई–७ जामवाढीमा शंकास्पद रूपमा गुडिरहेको को १ च ७३३८ नम्बरको कार रोकेर जाँच गरेको थियो। जाँचका क्रममा गाडीभित्रबाट करिब साढे चार लाख रुपैयाँ नगद, निर्वाचनसम्बन्धी प्रचार सामग्री र नमुना मतपत्र बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले रतुवामाई–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपालीलाई घटनास्थलबाटै पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार घिमिरे नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव, लिम्बू कांग्रेसका महाधिवेशन प्रतिनिधि र नेपाली पार्टीका क्रियाशील सदस्य हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातालाई प्रभावित पार्ने उद्देश्यले रकम बाँडिरहेको अवस्थामा उनीहरू फेला परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ। बरामद नगद, सवारीसाधन र सामग्रीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार निर्वाचन आचारसंहिता उल्लंघनको सूचनापछि प्रहरी परिचालन गरिएको थियो। घटनाबारे अनुसन्धान जारी रहेको र रकमको स्रोत तथा प्रयोगबारे स्पष्ट पारिने प्रहरीले बताएको छ।

रतुवामाई मोरङ निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ, जहाँ नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल, नेकपा (एमाले)का दिलिप बगडिया र राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णकुमार कार्की लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षा निगरानी कडाइ गरिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस