वीरगञ्ज नर्सिङ क्याम्पसको तालाबन्दी खोल्न माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र ७, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
वीरगञ्ज नर्सिङ क्याम्पसको तालाबन्दी खोल्न माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा

रौतहट,०७ चैत्र। वीरगञ्ज नर्सिङ क्याम्पसमा सोमबार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले गरेको तालाबन्दी खोल्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा एकजना सदस्य बाहेक अन्य सम्पूर्ण पदाधिकारी र सदस्यमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) उम्मेदवारले जित निकालेपछि धाँधली भएको आरोप लगाउँदै सोमबार दिउँसो नेविसङ्घले क्याम्पसको प्रशासन शाखा र प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

तालाबन्दीका कारण पठनपाठन र आउँदै गरेको परिक्षासमेत प्रभावित हुने बताउँदै विद्यार्थीहरुले क्याम्पस प्रशासनको मूल ढोका अगाडि धर्ना दिएर तालाबन्दी खोल्न माग गरेका हुन् । स्ववियू निर्वाचनको बहानामा तालावन्दी गर्न नपाईने र शैक्षिक गतिविधि निर्वाध ढंगले पुन: सूचारु हुनुपर्ने धर्नामा बसेका विद्यार्थीहरुको माग छ ।

क्याम्पसका रातारात गरिएको तालाबन्दीका कारण आफूहरु आश्चर्यचकित भएको बताउँदै अधिकांस विद्यार्थीहरुले तालाबन्दी खोली निसर्त रुपमा पठनपाठन पुन: सूचारु गर्नुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयका डीनलाई पत्र पनि लेखेका छन् । ‘स्ववियू निर्वाचनको परिणाम सार्वजनिक भएर सबै पक्षले स्वीकारसमेत गरिसकेको अवस्थामा रातारात क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरिएकोमा हामी विद्यार्थीहरुको आश्चर्यचकित भएका छौं । के कति कारणले किन रातारात हाम्रो क्याम्पसमा तालाबन्दी गरियो भन्ने कुरा अझैसम्म हामी कसैले बुझ्नसकेका छैनौं’, विद्यार्थीहरुले डीनलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्राविधिक शिक्षा जस्तो क्षेत्रमा राजनीतिक स्वार्थका निमित्त विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैको नभएको तालाबन्दी खोल्न बसेका विद्यार्थीहरुको भनाई छ । उनीहरुले आफ्नो मालाई वेवास्ता गरिए कडा कदम चाल्न आफूहरु बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

यता, स्ववियू निर्वाचनमा जितेको अनेरास्ववियूले पनि एउटा प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पद्धतिअनुसार सम्पन्न निर्वाचनको नतिजालाई स्वीकार गर्नुपर्ने ठाउँमा नेविसङ्घले पठनपाठनको वातावरणलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ । निर्वाचन लोकतन्त्रको मूल मर्म अनुसार भएको बताउँदै त्यसको नतिजालाई स्वीकार गर्दै तत्काल तालाबन्दी खोल्न अनेरासवियूको माग छ ।

नेविसङ्घले गरेको तालाबन्दीका कारण स्ववियूमा निर्वाचित पदाधिकारी र सदस्यहरु प्रमाणपत्रसमेत प्राप्त गर्न सकेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस