विदेशिने श्रमिकको सबै खर्च रोजगार दातालाई तिराउन सिफारिस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण २९, मंगलबार (१ साल अघि)
  • ३ पटक पढिएको
विदेशिने श्रमिकको सबै खर्च रोजगार दातालाई तिराउन सिफारिस

|श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण काठमाडौँ, २७ साउनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिहं भण्डारीलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा हस्तान्तरण गर्दै । तस्बिरः हरिराम भेटुवाल÷रासस

वर्तमानकाल सम्वाददाता
साउन २९ गते ।

श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित विज्ञ समितिले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि कुनै आर्थिक भार नपार्ने नीति लिन सिफारिस गरेको छ । नयाँ सत्ता गठबन्धन बनेर असारमा पुनः श्रम मन्त्रालयमा फर्किएका मन्त्री शरतसिंह भण्डारीलाई बुझाएको मस्यौदा नीतिमा विदेशिने श्रमिकको सबै खर्च (शुल्क) रोजगारदाताबाटै लिने गरी व्यवस्था गर्न सुझाव दिइएको छ । जबकि सरकारले पटक–पटक वैदेशिक रोजगारीको लागि तोकिएको सेवा शुल्क बढाउन प्रयास गरेको छ ।

गत फागुनमा पदमुक्त हुनुअघि तत्कालीन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘निःशुल्क भिसा र टिकट’ को निर्णय उल्ट्याउन गृहकार्य गरिरहेका थिए । उनीपछि श्रममन्त्री बनेका डोलप्रसाद अर्याल पनि श्रमिकसँग शुल्क नलिने नीतिको विपक्षमा थिए । उनले संसदको रोष्ट्रमबाटै सरकारको निर्णय लागू नभएकाले सेवा शुल्क तोक्नुपर्ने बताएका थिए । तर डा. गणेश गुरुङ नेतृत्वको विज्ञ समितिले वैदेशिक रोजगार प्रक्रियामा ‘इम्प्लोयर पे’ मोडलको विस्तार प्रभावकारी कार्यान्वयन हुने नीति बनाउनुपर्ने सुझाव दिएको छ ।

आइतबार श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई बुझाएको प्रतिवेदनमा स्वच्छ र न्यायोचित भर्ना प्रक्रिया अवलम्बन गर्ने नीति लिन र श्रमिकमाथि कुनै पनि आर्थिक भार नपार्ने नीति लिन भनिएको छ । मस्यौदा नीतिमा विदेशमा रहेका नेपाली दूतावास र नियोगले वैदेशिक रोजगार व्यवसायी संघको सहभागितामा श्रमिक भर्ना गर्दा सबै खर्च आफैं व्यहोर्ने रोजगारदाता (बजार)को खोजी गर्ने र प्रत्येक वर्ष सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्ने उल्लेख छ ।

श्रमिकको खर्च रोजगरदाताले व्यहोर्ने प्रणालीलाई श्रम गन्तव्य मुलुकसँग गरिने श्रम सम्झौतामा अनिवार्य गर्ने नीति लिन समेत समितिले सिफारिस गरेको थियो । श्रम आप्रवासन प्रक्रियामा संलग्न हुने व्यवसायीलाई अनुगमन, दण्ड र पुरस्कारको मापदण्ड बनाउने र उनीहरूलाई जवाफदेही राख्ने समेत नीतिको मस्यौदामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस