गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालले ५० प्रतिशत कमिसन दिनेलाई मात्र गरे भुक्तानी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ भाद्र २, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालले ५० प्रतिशत कमिसन दिनेलाई मात्र गरे भुक्तानी

// वर्तमानकाल सम्वाददाता //

रौतहट,०२ भदौ। रौतहटको गरुडा नगरपालिकामा भुक्तानी सम्बन्धी अनियमितताको गम्भीर आरोप लागेको छ।

नगरप्रमुख कन्थमनी प्रसाद जैसवालका छोरा सैलेश जैसवालले कमिशनका लागि नगरपालिकाका विभिन्न कामहरूमा हस्तक्षेप गरेको आरोप छ । नगरप्रमुख जैसवालका जेठो छोरा सैलेश जैसवालमाथि ठेकेदार र अन्य कार्य आदेश प्राप्त व्यक्तिहरूलाई कमिशनका आधारमा भुक्तानी वितरण गरेको आरोप समेत लागेको छ ।

नगरपालिकाको भुक्तानी प्रक्रियामा कमिशन दिने ठेकेदार र सप्लायर्सलाई मात्र प्राथमिकता दिइएको आरोप लगाइएको छ । एक स्थानीय स्रोतका अनुसार, कार्य आदेश पाएका केही व्यक्तिहरूले दुई वर्षदेखि भुक्तानीको पर्खाइमा छन्, तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलम र मेयर कन्थमनि प्रसाद जैसवालको अशिर्वाद प्राप्त करार सेवाका कार्यरत लेखापाल उमेश दासलाई पटक(पटक हारगुहार गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।

उक्त स्रोतका अनुसार,नगर प्रमुखका छोरा सैलेश जैसवालले आफूलाई कमिशन नदिने ठेकेदारहरूको भुक्तानी रोक्ने र कमिशन दिनेहरूलाई मात्र प्राथमिकताका साथ भुक्तानी गराउने गरेका बताए । स्रोतले भने हालसालै मात्र कार्य आदेश प्राप्त गरेका ठेकेदारहरूलाई कामै नगरेको तर ५० प्रतिशतको कमिसन दिनेलाई तुरुन्तै भुक्तानी गरिएको छ जबकि धेरै पुराना कार्य आदेश पाएका व्यक्तिहरूको भुक्तानी अझै रोकेर राखेको दुखेसो पोखेका छन ।

वहाँले भने आधि कमिसन दिनेहरुको चेक तुरन्त बनाउने र नदिनेहरुलाई विभिन्न बहानामा अल्मल्याउने गरेको गुनासो पोखे । चेक बुझेपछि समितिसँग कमिसन लिन विभिन्न स्थानमा तथा चिया पसलहरुमा पुग्ने त्यसो नभए मेयर जैसवालको छोरा सैलेशले आफ्नो मानिस लगाएर पैसा लिने गरेको समेत आरोप लगाएका थिए ।। यसले गर्दा नगरपालिकाको काम कारबाहीमा पारदर्शिता र निष्पक्षताको अभाव रहेको स्पष्ट भएको छ ।

यो घटनाले नगरपालिकाका अन्य कर्मचारी र ठेकेदारहरूमा व्यापक असन्तोष फैलिएको छ । उनीहरूले नगरपालिकाको आर्थिक कारबाहीमा भैरहेको अनियमितताको विरोध गर्दै न्यायिक जाँचको माग गरेका छन् । स्थानीयले यो घटनाको छानबिनको माग गर्दै आएका छन् र यसबारे थप अनुसन्धानको माग गर्दै सम्बन्धित निकायमा उजुरी दिने तयारीमा रहेका छन् । यस घटनाले गरुडा नगरपालिका भ्रष्टाचार र आर्थिक अनियमिततामा चुर्लुम डुबेको प्रति गम्भीर सवाल उठेको छ ।

यस्ता भ्रष्टाचारी नगर प्रमुख र कर्मचारीलाई छानविन गरि कडाभन्दा कडा कार्यवाहि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानआकर्षण गरेका छन । यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कदम चालेन भने हामि कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन र आन्दोलनबाट हुने सम्पुर्ण क्षति नगरपालिकाले बेहोर्ने चेतावनी दिएका छन । स्रोतका अनुसार पछिल्लो समय गरुडा नगरपालिकामा भ्रष्टाचारमा लिप्त हुदा बिवादमा पर्दै आईरहेका छन ।

त्यति मात्र नभएर नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरु लगायत विभिन्न किसिमको कमिसन, सेटिङ, अनियमितता र भ्रष्टाचारको आरोप समेत लाग्दै आएको छ । यता नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले भने आफ्नो र छोराको संलग्नता रहेको आरोपको खण्डन गर्दै यो आरोप आधारहीन भएको दाबी गरेका छन् । यस विषयमा थप अनुसन्धान हुनुपर्ने र दोषी देखिएमा कानुनी कारबाही गर्नुपर्ने स्थानीयहरू माग गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस