
सर्लाही,२४ जेठ। भारतबाट चोरी पैठारी गरिएका प्रतिबन्धित ब्रोइलर कुखुराका ७ हजार ५०० चल्ला सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।
अवैध रूपमा तस्करी गरेर नेपाल भित्र्याउने क्रममा पर्साको बहुदरमाई नगरपालिका – ५, स्थित डकैला चोकबाट ती चल्ला बरामद गरिएको हो। सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा लोड गरिएको ७५ कार्टुन चल्ला आज बिहान जफत गरेको हो। चल्ला प्रतिबन्धित जातको ब्रोइलर रहेको जनाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार बरामद गरिएका चल्लाहरू क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको छ।
उक्त तस्करीमा प्रयोग गरिएका मोटरसाइकलहरू आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
