झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २६, आईतबार (८ महिना अघि)
  • २ पटक पढिएको
झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ

वीरगञ्ज,२५ जेठ। झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा राजीव अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट जागिर तथा व्यापारको सिलसिलामा नेपाल आएका अग्रवालले २०६३ सालमा नागरिकता टोलीमार्फत जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए, तर उक्त प्रक्रिया मापदण्डविपरीत भएको उजूरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

वीरगञ्ज महानगरपालिका–६ स्थित दुई नम्बर रोडमा पसल सञ्चालन गर्दै आएका अग्रवाल पछिल्लो केही वर्षदेखि भारतको सुरतमा स्थायी रूपमा बसोबास गर्दै कारोबार गरिरहेका थिए।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी परेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सो उजूरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएका थिए। सोही आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

प्राप्त जानकारी अनुसार, अग्रवाल वीरगञ्ज महानगरपालिका–१० स्थित ठाकुर राम बहुमुखी क्याम्पस पछाडिको क्षेत्रमा घर बनाइ बसेका थिए। उजूरी परेपछि नागरिकता सम्बन्धी विवरण बुझ्न जिल्ला प्रशासन कार्यालय पुगेका बेला प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ।

पर्सा प्रहरीले अग्रवाल नागरिकता प्रकरणमा पक्राउ परेको पुष्टि गर्दै हाल हिरासतमा राखिएको जानकारी दिएको छ। अहिले यस मामिलालाई थप अनुसन्धानका लागि अघि बढाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस