राप्ती नगरपालिकाले एकै पटक ७४ जना कर्मचारीलाई हटाए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २७, सोमबार (८ महिना अघि)
  • २ पटक पढिएको
राप्ती नगरपालिकाले एकै पटक ७४ जना कर्मचारीलाई हटाए

चितवन,२६ जेठ। नगरपालिकाका जनप्रतिनिधिबीच विवादका कारण नागरिकको सेवामा समेत प्रभावित हुने गरी पटक पटक विवादित निर्णय गर्दै आएको यहाँको राप्ती नगरपालिकाले एकै पटक ७४ जना कर्मचारी हटाएको छ ।

नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोको कारण देखाउँदै आज सोमबारदेखि लागू हुनेगरी दैनिक ज्यालादारीमा कार्यरत ७४ जना कर्मचारीलाई आकस्मिक सूचना जारी गरेर विदा दिएको छ ।

नगरपालिकाले हटाइने कर्मचारीहरूमा भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत रहेका छन् ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै जेठ २६ गते सोमबार अर्थात् आजदेखि लागू हुने गरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको हो ।

नगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीले जारी गरेको सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकोले बाध्य भएर कर्मचारी हटाउनुपरेको उल्लेख छ ।

ज्यालादारी कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औँ नगरसभाबाट गठित सहजीकरण समितिले गरेको जनाइएको छ ।

समितिको संयोजक नगरप्रमुख शमेसेर लामा रहेका छन् भने उपप्रमुख देवेन्द्र लामा, वडा नं. २ का अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं. ५ का अध्यक्ष सीताराम तामाङ, वडा नं. ७ की अध्यक्ष सुमिता डल्लाकोटी र वडा नं. १२ का वडाध्यक्ष अर्जुन प्रजा सदस्य रहेका छन् ।

हिजो सार्वजनिक गरिएको सूचनामा समितिले जेठ १९ गते निर्णय गरेको जनाउँदै गर्दै हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।नगरपालिकाको सो निर्णयसँगै नगरका स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालयहरू र कृषि तथा पशु सेवा केन्द्रको सेवा प्रभावित हुने देखिएको छ ।

स्थानीय तहमा बजेट व्यवस्थापन र स्रोत सुनिश्चितताको चुनौतीबीच आएको यो निर्णयले आगामी दिनमा नगरपालिका भित्र थप विवाद र आलोचना निम्त्याउने संकेत देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस