सिरहामा एक शिक्षककै बारीमा गाँजा खेती

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
सिरहामा एक शिक्षककै बारीमा गाँजा खेती

सिरहा,२८ जेठ। सिरहाको एक सरकारी विद्यालयका शिक्षककै बारीमा गाँजा खेती गरिएको पाईएको छ ।

सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १४ स्थित मण्डल टोलस्थित एक सरकारी स्कूलका शिक्षकको बारीमा गाँजा खेती गरिएको पाइएको छ। गाँजा सेवन गरिरहेको सूचनाको आधारमा प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले विद्यालयका शिक्षक चित्तर मण्डलको बारीमा अवैध रूपमा रोपिएको करिब ५० वटा गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको छ।

प्रहरीका अनुसार, सोमबार बिहान करीब ८ः०० बजेको समयमा प्रहरी सहायक निरिक्षक केशवलाल यादवको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले घटनास्थलमा पुग्दा शिक्षक चित्तर मण्डलको बारीमा गाँजाको खेती गरिएको पुष्टि भएपछि तत्काल बोटहरू फडानी गरी आगो लगाई नष्ट गरिएको हो। घटनास्थल प्रहरी चौकी खिरौनाबाट करिब ५ सय मीटर पश्चिम पर्छ।

शिक्षक चित्तर मण्डल सिरहा नगरपालिका–१३, फूलवरियास्थित जनता माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन्। शिक्षक जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो गैरकानुनी गतिविधि हुनु आपत्तिजनक र चिन्ताजनक विषय बनेको छ।

नेपालमा लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा खेती, उत्पादन, ओसारपसार वा सेवन गर्नु गैरकानुनी हो।
उक्त ऐनको धारा ४(क) अनुसार कसैले  गाँजा उत्पादन गरेमा एक वर्षदेखि तीन वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। यदि गाँजा ओसारपसार वा कारोबार गरिएको पाइएमा थप कडा सजायसमेत हुने प्रावधान छ।

स्रोतका अनुसार, हालसम्म शिक्षक चित्तर मण्डललाई नियन्त्रणमा लिएको वा अन्य अनुसन्धान अघि बढाइएकोबारेमा औपचारिक जानकारी दिइएको छैन। यसबारेमा प्रहरीको थप प्रतिक्रिया र अनुसन्धान रिपोर्ट प्रतिक्षामा छ।

एकजना शिक्षकको बारीमा गाँजा खेती भेटिनु शिक्षा क्षेत्रको नैतिकतामाथि ठूलो प्रश्न उठाएको छ। यस्तो गतिविधिले विद्यार्थीमा गलत सन्देश दिन सक्छ भन्ने जनचासो देखिएको छ। स्थानीय बासिन्दाहरूले घटनाबारे गम्भीर छानबिन गर्दै संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस