सर्लाहीमा चमत्कारी रुखको श्रद्धा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ३२, शनिबार (८ महिना अघि)
  • २ पटक पढिएको
सर्लाहीमा चमत्कारी रुखको श्रद्धा

सर्लाही,३१ जेठ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जस्थित एक पुरानो छतिवनको रुख अहिले स्थानीयको कौतूहल र पूजाको केन्द्र बनेको छ। अन्दाजी दुई सातादेखि रुखका हाँगाबाट पानीजस्तो झोल झरिरहेको देखिएपछि आसपासका बासिन्दाले यसलाई दैवी संकेत मानेर पूजाआजा गर्न थालेका छन्।

स्थानीय पार्वती यादव भन्छिन्, “रुखका हाँगाबाट सधैं रस झरिरहेजस्तो लाग्छ, हामीलाई लाग्यो यो चमत्कार हो।” केहीले रुखलाई ‘देवतास्वरूप’ मानेर फूल, धूप, लड्डु चढाएर पूजाआजा गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत घटना भाइरल भएपछि मलङ्गवासहित टाढाटाढाबाट समेत सर्वसाधारण उक्त रुख हेर्न बबरगन्ज पुग्न थालेका छन्।

तर चन्द्रनगर स्वास्थ्य चौकीका सिनियर अहेब शिवशंकर महतोका अनुसार यो कुनै दैवी चमत्कार नभइ सम्भवत: किराको असर हुनसक्छ। “एक हाँगा काटेर परीक्षण गर्दा पानी ननिस्किएको देखियो। सम्भवतः रुखमा देखिएका स–साना किराहरूको सक्रियताले रस निस्किएको हो,” उनले स्पष्ट पारे।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले पनि घटनालाई अन्धविश्वासको रूपमा लिन नहुने बताउँदै भने, “हामी वैज्ञानिक ढंगले बुझ्ने प्रयासमा छौं। यस्तो विषय अध्ययनको हो, अन्धश्रद्धाको होइन।” अहिलेसम्म वैज्ञानिक परीक्षण नभए पनि रुखको हाँगाबाट निस्किरहेको झोलले एकातिर वैज्ञानिक अन्वेषणको माग गरिरहँदा अर्कोतिर स्थानीय श्रद्धाको प्रतीक बनेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस