पर्साबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित तिवारी र गुप्ता पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १, आईतबार (८ महिना अघि)
  • २ पटक पढिएको
पर्साबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित तिवारी र गुप्ता पक्राउ

पर्सा,०१ असार। वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२ छपकैयाका २१ वर्षीय राहुल कुमार तिवारी र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ निवासी ४० वर्षीय कौशल कुमार गुप्ता रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई वटा मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा सवार राहुल कुमार तिवारीको साथबाट १३ लाख रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा सवार कौशल कुमार गुप्ताको साथबाट ५ लाख रुपैयाँ फेला परेको हो।

बरामद नगद एक हजार दरका १ हजार ८२ वटा र पाँच सय दरका १ हजार ४३६ वटा नोट रहेको प्रहरीले जनाएको छ। उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेको र कुन प्रयोजनका लागि रकम ल्याइएको हो भन्नेबारे पनि जानकारी नदिएको प्रहरीले बताएको छ।

पक्राउ परेका दुवैजनालाई बरामद रकम र मोटरसाइकलसहित थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ। प्रहरीको प्रारम्भिक अनुमानमा यो रकम हुण्डी कारोबारसम्बन्धी हुन सक्ने आशंका गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस