गरुडा नगरपालिकाद्वारा कृषि सिँचाइ मिटरको बक्यौता बिल भुक्तानी, १० लाख बढी रकम विद्युत प्राधिकरणलाई बुझायो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ३, मंगलबार (८ महिना अघि)
  • २ पटक पढिएको
गरुडा नगरपालिकाद्वारा कृषि सिँचाइ मिटरको बक्यौता बिल भुक्तानी, १० लाख बढी रकम विद्युत प्राधिकरणलाई बुझायो

पवन कुमार उपाध्याय

रौतहट,०३ असार। गरुडा नगरपालिकाले वडा नं. १ देखि ८ सम्मका किसानहरूले प्रयोग गर्दै आएका कृषि सिँचाइ मिटरहरूको बक्यौता बिल भुक्तानी गरेको छ। नेपाल विद्युत प्राधिकरण गौरलाई नगरपालिकाले कुल रु. १०,३२,४७९ रुपैयाँ तिरेको हो।

नगरप्रमुख कन्थमणी प्रसाद जयसवालका अनुसार यो भुक्तानी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमअनुसार गरिएको हो। नगरले यसअन्तर्गत पहिलेका वर्षहरूदेखि बाँकी रहेका बिलहरू समेत समेटेर एकमुष्ट भुक्तानी गरेको छ।

“कृषकहरूको हक–अधिकार सुनिश्चित गर्दै, नगरपालिकाको सेवा प्रवाहमा पारदर्शिता कायम राख्नु हाम्रो दायित्व हो,” मेयर जयसवालले भन्नुभयो, “हामी किसानमुखी योजनाहरूलाई निरन्तरता दिँदै छौं।”

उहाँले आगामी दिनहरूमा सिँचाइ सुविधा, कृषि उत्पादनमा प्रविधिको प्रयोग र सहज ऊर्जा पहुँचमार्फत कृषकहरूको जीवनस्तर उठाउनेतर्फ थप पहल गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

नगरपालिकाले यसअघि पनि कृषि प्रयोजनका लागि विद्युत पोल जडान, सिँचाइ नहर सुधार, तथा कृषि उपकरण उपलब्ध गराउनेजस्ता कामहरूलाई प्राथमिकता दिँदै आएको छ।

स्थानीय किसानहरूले नगरपालिकाको यस कदमको स्वागत गर्दै समयमै भुक्तानी भएकाले सिँचाइ अवरोध नहुने विश्वास व्यक्त गरेका छन्।

कृषिमा आत्मनिर्भरता र दीगो उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्ने गरुडा नगरपालिकाको प्रयास किसानहरूका लागि उदाहरणीय बन्दै गएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस