
सर्लाही,०३ असार। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाहीकि एक महिला काठमाडौंमा पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाहीको बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन्।
रूपीले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ५ लाख ५७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो।
पक्राउ परेकी उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
