
सर्लाही,०४ असार। सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा आज बिहान आएको तीव्र हावाहुरीले एक किसानको गोठ भत्किँदा दुई वटा भैँसी मरेका छन्। व्यावसायिक पशुपालन गर्दै आएका स्थानीय रामप्रताप रायको खपडाले छाएको गोठ भत्किएर भित्र रहेका भैँसी च्यापिएर मरेका हुन् ।
प्राकृतिक प्रकोपले पुर्याएको क्षतिबारे जानकारी दिँदै रायले दुई भैँसीको मृत्युसँगै झण्डै तीन लाख पचास हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताएका छन् । घटनामा अन्य दुई भैँसी घाइते भएका छन् भने बाँकी नौ भैँसीलाई सकुशलै गोठबाट बाहिर निकालिएको छ ।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार गाउँलेहरूको सहयोगमा भत्किएको गोठबाट घाइते र सकुशल रहेका भैँसीहरू सुरक्षित रूपमा निकालिएको हो । रातभर बागमती क्षेत्रमा पानीसहित ठूलो हावाहुरी चले पनि अन्य क्षेत्रमा भने कुनै ठूलो क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
