
वीरगञ्ज,०५ असार। सप्तरीको शम्भुनाथ नगरपालिका–२ गोविन्द चौक नजिकै पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक नवविवाहित युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा रुपनी गाउँपालिका–१ निवासी २० वर्षीय मोहम्मद आजादको मृत्यु भएको छ । उनी चार दिनअघि मात्रै सप्तरीको सुरुङगा नगरपालिका करडबोनाकी सलमा खातुनसँग विवाह बन्धनमा बाँधिएका थिए । विवाहमा दाइजोमा प्राप्त मोटरसाइकल चढेर उनी यात्रा गर्ने क्रममा भएको दुर्घटनामा उनको मृत्यु भएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.१ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको आजादको प्र.२–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका आजादलाई तत्काल रायपुरस्थित युनिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिए पनि उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । उनको शव सोही अस्पतालमा पोस्ट मार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार १७ वर्षीय मोहम्मद समिर पनि गम्भीर घाइते भएका छन् । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रिफर गरिएको छ ।
स्थानीय बासिन्दाहरूले घटनाले गाउँमा शोकको लहर छाएको बताएका छन् । नवविवाहित जोडीको खुसी छोटो समयमै त्रासदीमा परिणत भएको भन्दै गाउँलेहरू स्तब्ध छन् । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ ।
