१३ वर्षीया बालिकालाई भारतीय पुरुषसँग बिक्री गरी विवाह गराइएको घटना सार्वजनिक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ५, बिहिबार (८ महिना अघि)
  • २ पटक पढिएको
१३ वर्षीया बालिकालाई भारतीय पुरुषसँग बिक्री गरी विवाह गराइएको घटना सार्वजनिक

वीरगञ्ज,०५ असार। पर्सा जिल्लाको पोखरिया नगरपालिकास्थित एक गाउँमा १३ वर्षीया नाबालिकालाई भारतीय रुपैयाँ ३ लाखमा बिक्री गरी जबरजस्ती विवाह गराइएको घटना सार्वजनिक भएको छ।

गाउँलेहरूका अनुसार जेठ २४ गते भारतको बिहार, सुगौली नजिकैको सुधाव टोलका एक ५० वर्षीय पुरुषसँग बालिकाको दोस्रो विवाह गराइएको हो। स्थानीयले बताएअनुसार ती पुरुषले यसअघि आफ्नो पहिलो पत्नीको ज्यान लिएको र अर्की नाबालिकाको पनि जीवन बर्बाद पारेको पृष्ठभूमि छ।

बालिकाका हजुरबुवाले इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गर्दै बालबिवाह, मानव बेचबिखन र बेमेल विवाहबारे निष्पक्ष छानबिनको माग गरेका छन्। तर बालिकाका बाबुआमा भने गरिबीको कारण यस्तो निर्णय लिएको भन्दै गाउँमा स्पष्टिकरण दिइरहेका छन्।

भारतीय दुलहाको पोखरियामा केही नातेदार रहेको र उनीहरूकै माध्यमबाट यो सम्पूर्ण कार्य भएको खुलेको छ। यसबारेमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्राले घटनाको पुष्टि गर्दै मातहत प्रहरी यूनिटलाई आवश्यक अनुसन्धानका लागि निर्देशन दिइसकेको र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

नाबालिगमाथिको यस्तो अमानवीय क्रियाकलापप्रति मानव अधिकारकर्मीहरूले कडा विरोध जनाएका छन् र दोषीलाई कडा कानुनी सजायको माग गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस