

वीरगञ्ज,०५ असार। भारतको उत्तर प्रदेश राज्यस्थित हरदोई जिल्लामा एक पुरुषले अवैध सम्बन्ध राखेको आशङ्कामा आफ्नी श्रीमतीको नाक दाँतले काटिदिएका छन् ।
घटना हरदोई जिल्लाको हरियावा थाना क्षेत्रअन्तर्गत देवरिया प्रसिद्ध नगर गाउँ निवासी रामखेलावनले श्रीमतीको अवैध सम्बन्ध रहेको आशङ्कामा उनको नाक दाँतले टोकेर काटिदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रामखेलावनकी श्रीमती पूजा देवीको सोही गाउँका सुशील कुमारसँग विगत १० महिनादेखि प्रेम सम्बन्ध थियो । बुधवार बिहान पूजा आफ्ना प्रेमी सुशीलको घर पुगेकी थिइन् ।
श्रीमती प्रेमीको घर पुगेको कुरा थाहा पाएपछि रामखेलावन पनि सुशीलको घर पुगेका थिए । त्यहाँ उनले पूजालाई सम्झाएर घर फर्कन आग्रह गरे । तर, पूजाले घर फर्कन अस्वीकार गरेपछि आक्रोशित बनेका रामखेलावनले सबैको अगाडि दाँतले उनको नाक काटिदिएको बुझिएको छ ।
घटना पश्चात् पूजाको अवस्था गम्भीर बनेको थियो । सुशीलले तत्काल पूजाको काटिएको नाक डिब्बामा राखेर स्थानीय थानामा पुगी प्रहरीमा उजुरी दर्ता गरेका थिए । प्रहरीले तत्कालै रामखेलावनलाई पक्राउ गरेको थियो भने पूजालाई प्राथमिक उपचारका लागि स्थानीय सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) लगिएको थियो ।
पूजालाई थप उपचारका लागि हरदोई मेडिकल कलेज र पछि लखनऊ मेडिकल कलेज रेफर गरिएको भारतीय प्रहरीले जनाएको छ ।
पूजाले प्रहरीलाई दिएको बयानमा आफ्नो विवाह १० वर्षअघि रामखेलावनसँग भएको र उनीहरूका ७ र ९ वर्षका दुई सन्तान रहेको बताएकी छन् । उनले पति रामखेलावनले आफूलाई सुशीलसँगको सम्बन्धका कारण बारम्बार गाली गर्ने र जान मार्ने धम्की दिने गरेको उल्लेख गरेकी छन् । सोही कारणले आजित भएर उनी प्रेमी सुशीलको घर गएको बताएकी छन् ।
प्रहरीले पूजाको उजुरीका आधारमा रामखेलावनविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । घटनाले स्थानीय गाउँमा ठूलो चर्चा पैदा गरेको छ । प्रहरीले थप अनुसन्धानपछि आवश्यक कारबाही अगाडि बढाउने जनाएको छ ।
