
रौशन कुमार चौधरी
रौतहट,०६ असार। कटहरिया नगरपालिकाको वार्ड नं. ६ फतेपुरमा अवस्थित श्री आधारभूत विद्यालयमा शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरी दुई कोठे पक्की भवनको शिलान्यास गरिएको छ ।
नगरपालिका स्तरको बजेट अन्तर्गत निर्माण हुन लागेको उक्त भवनको शिलान्यास कटहरिया नगरपालिकाकी उपप्रमुख रिता देवी यादव र सोही वडाका वडाध्यक्ष जयराम चौधरीले संयुक्त रूपमा गर्नु भएको हो । कार्यक्रममा स्थानिय बुद्धिजीवी, समाजसेवी, राजनैतिक व्यक्तित्व, शिक्षक, अभिभावक तथा गाउँका भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि उपप्रमुख यादवले शिलान्यास समारोहलाई सम्बोधन गर्दै भनिन्, “मैले उपप्रमुखमा निर्वाचित भएदेखि नै नगरबासीको चाहना, आवश्यकता र हितलाई ध्यानमा राखेर काम गर्दै आएकी छु । शिक्षा क्षेत्रलाई सबल बनाउनु मेरो प्राथमिकताको विषय हो ।
“ उहाँले थप भनिन् कि विद्यालयमा विद्यार्थीको चाप उच्च भएको कारण कक्षाकोठाको अभावले शिक्षण सिकाइमा समस्या उत्पन्न भइरहेको थियो । “यही समस्या दीर्घकालीन रूपमा समाधान गर्न दुई कोठे पक्की भवन निर्माणको प्रक्रिया थालिएको हो,” उपप्रमुख यादवको भनाइ थियो ।
शिलान्यासका क्रममा उनले विद्यालयको भौतिक संरचना सुदृढ भएमा विद्यार्थीहरूलाई वर्षा, घाम, हावापानीका कारण पठनपाठन अबरुद्ध नहुने बताउँदै अब विद्यार्थीहरू निर्धक्क भई पढ्न सक्ने वातावरण तयार हुने विश्वास व्यक्त गरिन् ।उपप्रमुख यादवले विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई समयमै उपस्थित भई नियमित र गुणस्तरीय पठनपाठनमा ध्यान दिन निर्देशन समेत दिएकी थिइन् ।
साथै विद्यालयको शैक्षिक प्रगति र विकासमा कुनै किसिमको कमजोरी हुन नदिन आफू सदैव तत्पर रहने दृढता पनि व्यक्त गरिन् ।
वडाध्यक्ष जयराम चौधरीले पनि कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकासको आधारभूत पिलर भएकाले यस प्रकारको संरचना निर्माणले आगामी पुस्तालाई राम्रो वातावरणमा अध्ययन गर्न सहयोग पु¥याउने बताए ।
स्थानीय जनप्रतिनिधिहरूले विद्यालयको आवश्यकतालाई सम्बोधन गर्दै थप विकास योजनाहरू अगाडि बढाइने प्रतिबद्धता पनि जनाएका थिए । उक्त भवन निर्माण कार्य छिट्टै सुरु भई तोकिएको समयावधिमा सम्पन्न गरिने र गुणस्तरीय निर्माण सुनिश्चित गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
कार्यक्रममा अंजित कुश्वाहा , उमेश सहनी, क्रान्ति प्रसाद कुश्वाहा, राजेश सहनी, राजेश यादब, राकेश यादब, शिक्षक पवन कुमार चौधरी लगायत भद्रभलादमि मानिसहरुको सहभागिता रहेको थियो ।





