रौतहटको चन्द्रपुरमा ११औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ८, आईतबार (८ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटको चन्द्रपुरमा ११औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न

रमेश कुमार यादब
असार ०७, रौतहट

सन्तुलित जीवनशैली, मानसिक स्वास्थ्य तथा दीर्घायु जीवनको लागि योग अपरिहार्य रहेको सन्देशसहित रौतहट जिल्लाको चन्द्रपुरमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइएको छ । पतञ्जलि योग समिति चन्द्रपुर रौतहटको आयोजनामा मुनलाईट एकेडेमी स्कूलको प्राङ्गणमा एक विशेष योग कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख उद्देश्य आम नागरिक, विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई योगको महत्त्वबारे जनचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको प्रारम्भमा नगर परिक्रमा गरिएको थियो जसमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । नगर परिक्रमा पश्चात् मुनलाईट एकेडेमीको प्राङ्गणमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि मुनलाईट एकेडेमीका प्रिन्सिपल श्याम किशोर चौधरी थिए भने विशिष्ट अतिथिको रूपमा एकेडेमीका डाइरेक्टर दीपक घिमिरे तथा कार्यक्रम अध्यक्ष योग समितिका प्रदेश नं. २ सदस्य एवं रौतहट जिल्ला अध्यक्ष अर्जुन तिमिल्सिना रहनुभएको थियो ।

प्रमुख अतिथि चौधरीले सम्बोधन गर्दै भने, “योग कुनै धर्म, जात, संस्कृति वा देश सीमित नभई सम्पूर्ण मानव जातिको लागि उपहार हो। यसले तन, मन र आत्माको सन्तुलन कायम राख्न मद्दत गर्छ । योगले शारीरिक रोगहरू मात्र हटाउँदैन, मानसिक तनाव, चिन्ता र डिप्रेसनजस्ता समस्याबाट समेत मुक्ति दिन्छ ।” डाइरेक्टर दीपक घिमिरेले युवाहरूमा बढ्दो तनाव र असन्तुलित जीवनशैलीप्रति चिन्ता व्यक्त गर्दै दैनिक योग अभ्यास गर्नुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै, अध्यक्ष अर्जुन तिमिल्सिनाले योगलाई जीवनको अंग बनाउनुपर्नेमा जोड दिँदै, “सिर्फ एक दिनको योग कार्यक्रमले मात्र पुग्दैन, यसलाई निरन्तर अभ्यासमा ल्याउनु जरुरी छ,” भन्नुभयो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न योग आसनहरू प्रस्तुत गरी उपस्थित सबैलाई मन्त्रमुग्ध पारे । विशेष गरी सूर्य नमस्कार, वृक्षासन, त्रिकोणासन, ताड़ासन जस्ता योग क्रियाहरूले सबैको ध्यान ताने । कार्यक्रम अनुशासित, सन्देशमूलक र प्रेरणादायी वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । अन्त्यमा विद्यालय प्रशासनले सबै अतिथि तथा सहभागीहरूलाई आभार प्रकट गरेको थियो ।

यसै अवसरमा आयोजकको तर्फबाट भेट स्वरूप योग प्रवाह नामक पुस्तक विद्यालयका प्रधानाध्यापक श्याम किशोर चौधरी र युनिक टर्न एजुकेशन एन्ड मिग्रेशन कन्सल्टेन्सी प्रा.लि. की म्यानेजिङ डाइरेक्टर रेखा गुप्तालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमले स्थानीय स्तरमा योगप्रतिको चासो र चेतनाको स्तर वृद्धि गराउने अपेक्षा गरिएको छ । आयोजक समितिका अनुसार आगामी दिनहरूमा पनि निरन्तर योग सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस