
वीरगञ्ज,०८ असार। पर्साको बहुदरमाई नगरपालिका–५ अन्तर्गत पर्ने पटनी गण्डक नहर रोडमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, शनिवार राती करिब साढे ९ बजे डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा तीव्र गतिमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र गतिमा रहेको सुमो र मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै सवारी साधन सडकबाट केही मिटर तल निर्माणाधीन नालामा खसेका थिए । ठक्कर लगत्तै दुवै सवारी साधनमा आगलागी भएको र ती पूर्ण रूपमा जलेर नष्ट भएको बुझिएको छ ।
स्थानीय बासिन्दाहरूले तत्काल सूचना दिएपछि सखुवाप्रसौनी गाउँपालिकाको वरुण यन्त्र (दमकल) १० मिनेटभित्रै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार घाइतेमध्ये भारतको पूर्वी चम्पारण बस्ने ३८ वर्षीय नरेश साह बर्णवाललाई तत्काल वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा राति नै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मोटरसाइकलमा पछाडि सवार बहुदरमाई नगरपालिका–५, पटनी बस्ने १९ वर्षीय रोशन कुमार बर्णवालको अवस्था गम्भीर रहेको पर्सा डिएसपी लम्सालले जानकारी दिए । उनको दुवै खुट्टा भाँचिएको र नाकबाट रक्तस्राव भएको लम्सालको भनाइ छ । हाल उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि सुमो चालक घटनास्थलबाट फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी तीव्र पारेको जनाएको छ । प्रहरीले आसपासका सिसिटिभी फुटेज सङ्कलन गर्ने प्रयास गरिरहेको छ भने दुवै सवारी साधनलाई कानुनी प्रक्रिया पूरा गरी प्रहरी कार्यालयमा राखिएको छ ।
डकैला प्रहरी चौकी र तालुक प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएर घटनाको अनुसन्धान भइरहेको छ । प्रहरीले चालकको लापरबाही र तीव्र गतिलाई दुर्घटनाको प्रारम्भिक कारण मानेको छ ।
घटनाको जानकारी पाउनासाथ सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव तत्काल घटनास्थलमा पुगेका थिए । उनको निर्देशनमा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीको टोलीले तुरुन्तै उद्धार कार्यमा सहभागिता जनाएको थियो । स्थानीय बासिन्दाहरूले अध्यक्ष यादवको सक्रियता र जिम्मेवार व्यवहारको प्रशंसा गरेका छन् ।
स्थानीय बासिन्दाहरूले पटनी गण्डक नहर रोडमा बारम्बार हुने सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सडकको अवस्था, तीव्र गति नियन्त्रणको अभाव र रातको समयमा अपर्याप्त प्रकाशको कारण यस्ता दुर्घटना बढेको बताएका छन् । स्थानीयले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सुधारको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साले सवारी चालकहरूलाई तीव्र गतिमा सवारी नचलाउन र ट्राफिक नियमको पालना गर्न अपिल गरेको छ । साथै, घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शी वा कुनै जानकारी भएका व्यक्तिहरूलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको छ ।
