गैंडाको आक्रमणबाट घाँस काट्न गएका एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १२, बिहिबार (८ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चितवन,१२ असार। चितवन राष्ट्रिय निकुञ्ज आडको मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ५२ वर्षीय सनिश्चरा दराईको बिहीबार बिहान गैंडाले आक्रमण गर्दा ज्यान गएको छ ।

निकुञ्ज कार्यालयका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका उनी राप्ती नगरपालिका–६ स्याउली टोलका हुन् । राप्ती एकता मध्यवर्ती सामुदायिक वनको भसामाडी तल्लो ताल क्षेत्रमा घाँस काट्न गएका बेला सनिश्चरालाई गैंडाले आक्रमण गरेको चितवन निकुञ्जको खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नवराज पाठकले बताए ।

उनको घटनास्थलमै ज्यान गएको हो । बिहान ६ बजेतिर उनलाई गैंडाले आक्रमण गरेको थियो । घटनास्थलमा हसियाँ, एउटा खाली बोरा र एक मुठा घाँस पनि रहेको उनले बताए । ‘बिहान घाँसको जोहो गर्न गएका बेलामा घटना भएको हो,’ अध्यक्ष पाठकले भने ।

जंगली जनावर ओहोरदोहोर गर्ने क्षेत्रमा सावधान भएर क्रियाकलाप गर्न निकुञ्ज प्रशासनले अपिल गरेको छ । चार जिल्ला जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ, गैंडा, जंगली हात्ती, बँदेल, गोहीजस्ता जंगली जनावरको आक्रमणमा परेर बर्सेनि ५ देखि २५ जनासम्मको ज्यान जाने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस