नवलपरासीमा चामल भनेर साढे ३ करोडको चिनी तस्करी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १२, बिहिबार (८ महिना अघि)
  • २ पटक पढिएको
नवलपरासीमा चामल भनेर साढे ३ करोडको चिनी तस्करी

नवलपरासी,१२ असार। नवलपरासीमा चामल भनेर साढे ३ करोडको चिनीको तस्करी भएको खुलेको छ। राजस्व अनुसन्धान कार्यालय बुटवल कार्यालयले गरेको अनुसन्धानका क्रममा नवलपरासीका विभिन्न सीमा नाकाबाट भन्सार छलेर ल्याइएका चिनीलाई चामल भनेर बिक्रीका लागि पठाउने गरेको खुलेको हो।

त्यसरी अवैध रूपमा कारोबारमा संलग्न चार जनाविरुद्ध राजस्व अनुसन्धान कार्यालय बुटवलले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ। नवलपरासीको रामग्राम नगरपालिका–८ परासीस्थित नवज्योती ट्रेडर्सले ३ करोड ४७ लाख बराबरको चिनीलाई चामल उल्लेख गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाउने गरेको फेला परेको हो। 

उक्त ट्रेडर्सका सञ्चालक सौरभ यादव हुन्। पछिल्लो समय उक्त ट्रेडसले सुर्खेतस्थित आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मालाई चामलको बिल बनाइ ११ लाख ७१ हजार बराबरको चिनी पठाएको अवस्थामा ट्रकसहित पक्राउ परेपछि उक्त अवैध धन्दा बाहिर आएको हो। यसअघि यादवले तीन पटकसम्म चामलको बिल बनाएर चिनी पठाएको पाइएको राजस्व कार्यालयले जनाएको छ। चौथो पटकमा यादवको अवैध धन्दा बाहिरिएको हो। 

ट्रक पक्राउ परेपछि अवैध रूपमा चिनी पठाउने नवज्योती ट्रेडर्सले बिक्री गरेको बिल, खरिद गरेको बिल र भिसिटिएस चेकजाँच गर्दा नमिलेपछि चामलको बिलमा चिनी राखेर पठाउने गरेको पाइएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए। ‘उक्त ट्रेडसको खरिद/बिक्री बिल र खाता जाँच गर्दा खरिद स्रोत नै देखिएन‍। चार पटकसम्म त्यसरी राजस्व छली गरेर चामलको बिलमा चिनी पठाएको पुष्टि भएपछि अनुसन्धान गरेर मुद्दा चलाइएको हो। ’ घिमिरेले भने। 

अनुसन्धानका क्रममा ५० लाखभन्दा बढी कारोबार गरे पनि मूल्यअभिवृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याइएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले नवज्योती ट्रेडर्सका सञ्चालक यादवलाई  मूल्यअभिवृद्धि कर र भन्सार चोरी पैठारीतर्फको ३ करोड ४७ लाख ६२ हजार ७५३ बिगो कायम गरी शत प्रतिशत जरिबानासहित कुल ६ करोड ९५ लाख २५ हजार ५०६ रुपियाँसहित हदैसम्मको कैद सजाय माग गरेर मुद्दा दायर गरिएको छ। 

त्यसैगरी सामान खरिद गर्ने सुर्खेतस्थित आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्माले अवैध रूपमा चिनी लैजाँदै गरेकाले भन्सार चोरी पैठारीतर्फको ११ लाख ७१ हजार ५ सय रुपैयाँ बिगो कायम गरी सामान जफतसहित शतप्रतिशत जरिवाना गरी कुल २३ लाख ४३ हजार माग दाबीसहित मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले बताए। 

त्यस्तै अवैध सामान खरिद गर्ने पुष्पालाई प्रत्यक्ष सघाएको अभियोगमा हिक्मतप्रसाद आचार्यलाई पुष्पालाई हुने सजायको आधा सजाय माग गरिएको छ। त्यस्तै मुद्दा दायर गरिएका ट्रक चालक विनोद थापा भने ५० हजार धरौटीमा छुटेको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए। घिमिरेबाहेक अन्य व्यक्ति फरार रहेको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस