मौलापुरका वडा अध्यक्ष महतो विवादको घेरामा,दुर्घटनापछि भागेको आरोप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (८ महिना अघि)
  • ३ पटक पढिएको
मौलापुरका वडा अध्यक्ष महतो विवादको घेरामा,दुर्घटनापछि भागेको आरोप

वर्तमानकाल सम्वादाता
असार १२ गते ।
जनताको मतबाट चुनिएका जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने सवाल फेरि एक पटक मौलापुरमा उठेको छ। गत शुक्रबार दिउँसो करिब १ बजे मौलापुर–जयनगर सडकखण्डमा भएको सवारी दुर्घटनापछि गम्भीर घाइते भएका युवकमाथि बेवास्ता गर्दै भागेको आरोप लागेपछि मौलापुर नगरपालिकाको वडा नं ३ का वडा अध्यक्ष महेशप्रसाद महतो चौतर्फी आलोचनाको घेरामा आएका छन्।

दुर्घटना मौलापुर पावरहाउसबाट दुई सय मिटर पश्चिमतिर भएको थियो, जसमा वडा अध्यक्ष महतो सवार ना २५ प १२२५ नम्बरको मोटरसाइकल र जयनगरबाट आउँदै गरेका नागेन्द्र महतोका १७ वर्षीय छोरा निरन्जन कुश्वाहा सवार प्र।२–०३–००७३ प ६६६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएपछि निरन्जन गम्भीर घाइते भएका थिए।

घाइते निरन्जनलाई तत्काल बिरगंजस्थित नेशनल मेडिकल कलेजमा पुर्याइएको छ, जहां उनी अहिले आईसीयूमा गम्भीर अवस्थामा उपचाररत छन्। सँगै सवार अर्का व्यक्तिको अवस्था भने केही सुधार भएको बताइएको छ।

घाइतेका बुबा नागेन्द्र महतोका अनुसार, “वडा अध्यक्ष आफैंलाई सामान्य चोट लाग्दा नेशनल मेडिकलमै उपचार गराए तर मेरा छोराको अवस्था नाजुक हुँदासमेत हेरेनन्। उपचार खर्च त के, अवस्था बुझ्नसमेत फर्केर आएनन्। मेरो परिवारलाई सहारा दिनुको साटो उल्टो भागेर र उपचार खर्च बेहोर्ने जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन्,” उनले दुखेसो पोखेका छन्।

घटनाबारे वडा अध्यक्ष महतोसँग बुझ्दा उनले आफैंलाई चोट लागेको र अहिले हेटौंडास्थित आफ्नो कोठामा आराम गरिरहेको बताउँदै घाइते पक्षलाई दोष थोपरेका छन्। उल्टो उनले “दुर्घटना निरन्जन आफैंको लापरवाहीबाट भएको र खर्च आफैं बेहोर्नुपर्ने” जिकिर गरेका छन्।

स्थानीयवासीहरूका अनुसार जनताको मतबाट सत्तासीन भएका जनप्रतिनिधिबाट यस्तो गैरजिम्मेवार र अमानवीय व्यवहार लाजमर्दो र अस्वीकार्य छ। “दुर्घटनापछि घाइतेको उपचार र सहानुभूति जनाउनु त जनप्रतिनिधिको न्यूनतम कर्तव्य हो, तर यहाँ त उल्टो दोषारोपण गर्दै भाग्न खोजिएको छ,” नाम नबताउन चाहने एक स्थानीय अगुवाले बताए।

समाजका अगुवा र स्थानियवासीहरूले वडा अध्यक्ष महतोमाथि गम्भीर प्रश्न उठाएका छन् र न्याय, क्षतिपूर्ति र उचित उपचार खर्च सुनिश्चित गर्न प्रशासनसमक्ष माग गरेका छन्। जनताको विश्वासबाट जितेका जनप्रतिनिधिले संकटका बेला देखाएको यस्तो अमानवीय र असंवेदनशील व्यवहार मौलापुरबासीका लागि गम्भीर चिन्ताको विषय बनेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस