
बारा,१६ असार। बारा जिल्लाको पथलैया–वीरगञ्ज सडकखण्डमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख २९९२ नम्बरको ट्यांकरले सोही दिशातर्फ गइरहेको ०२–०३–२४ प ३९६९ नम्बरको मोटरसाइकललाई बारा जिल्ला अन्तर्गत जीतपुर सिमरा उपमहानगरपालिका–७ दुर्गा मन्दिर नजिक ठक्कर दिएको हो।
प्राप्त जानकारीअनुसार, दुर्घटनामा परेका वीरगञ्ज महानगरपालिका–३२ निवासी अन्दाजी २० वर्षीय मोहम्मद साहिल अन्सारी गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्त उद्धार गरी नारायणी अस्पताल वीरगञ्ज ल्याइएको भए पनि चिकित्सकले अस्पतालमा पुर्याउँदा नै मृत घोषित गरेका थिए।
ट्यांकर चालक घटनापछि फरार रहेको र उनको खोजी कार्य जारी रहेको ट्राफिक प्रहरी कार्यालय पथलैयाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वकिल सिंहले जानकारी दिएका छन्।
राजमार्गमा बाटो काट्ने क्रममा भएको यो दुर्घटनाले त्यहाँको सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र सावधानीका विषयमा प्रश्न उठाएको छ। स्थानीय बासिन्दाले सम्बन्धित निकायसँग दुर्घटनाको यथोचित अनुसन्धान र दोषीलाई कारबाही गर्न माग गरेका छन्।
