तीन बालिकालाई भारततर्फ लैजाँदै गरेका ४ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १७, मंगलबार (८ महिना अघि)
  • २ पटक पढिएको
तीन बालिकालाई भारततर्फ लैजाँदै गरेका ४ जना पक्राउ

तिलोत्तमा,१७ असार। तीन बालिकालाई भारततर्फ लैजाँदै गरेका ४ जना नेपाल–भारत सीमाबाट पक्राउ परेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

आइतबार दिउँसो प्रहरी टोलीले तीन नेपाली बालिकालाई ललाइफकाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको हो । बालिकालाई अवैध रूपमा सीमा पार गराउन खोज्ने चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा भारत उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुर जिल्लाको कैम्पियरगन्ज कुँवर बलुवा निवासी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, सोही ठाउँ निवासी २६ वर्षीय प्रमोद कुमार धोबी र नेपाल रुपन्देही गैडहवा गाउँपालिका–६ निवासी १९ वर्षीया निर्मला लोध रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू लामो समयदेखि सीमा क्षेत्रमा सक्रिय रहेर नेपाली बालबालिका र किशोरीलाई विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाने प्रयासमा संलग्न थिए । नियन्त्रणमा लिइएका चारै जनाविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस