महोत्तरीका इन्स्पेक्टर भण्डारीसहित तिन प्रहरीमाथि कारबाही

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (७ महिना अघि)
  • २ पटक पढिएको
महोत्तरीका इन्स्पेक्टर भण्डारीसहित तिन प्रहरीमाथि कारबाही

महोत्तरी,२५ असार। मधेस प्रदेश प्रहरी कार्यालयले महोत्तरीको गौशाला इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) उत्तम सिंह भण्डारीसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको छ । 

व्यापारीहरूसँग जबरजस्ती रकम असुली, चेक अनादर मुद्दामा आर्थिक लाभ लिएको र बिचौलियामार्फत अनैतिक रूपमा रकम सङ्कलन गरेको गम्भीर आरोपमा उनीहरूमाथि छानबिन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र कुमार भट्टका अनुसार, इन्स्पेक्टर भण्डारी, प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई मधेस प्रदेश प्रहरी कार्यालयले अनुसन्धानका लागि जनकपुरस्थित नेपाल प्रहरीको गणमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानमा भण्डारीले महतो र विश्वकर्मालाई ‘घुमुवा’ प्रहरीको रूपमा प्रयोग गरी अनैतिक गतिविधि सञ्चालन गरेको पाइएको छ ।

आरोपअनुसार, गौशाला इलाका प्रहरी कार्यालय परिसरमा दिनहुँ छलफलको बहानामा बिचौलियामार्फत रकम सङ्कलन हुँदै आएको थियो । लामो समयदेखि गौशालामा कार्यरत दुवै प्रहरी जवानहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीका सादा पोसाकका (घुमुवा) प्रहरीले संरक्षण दिएको अनुसन्धानमा खुलेको छ ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयमा पाँच वर्षभन्दा बढी समयदेखि कार्यरत सादा पोसाकका प्रहरीहरूको सरुवा भए पनि उनीहरूले अन्यत्र जान अस्वीकार गर्दै आएका छन् । यस्ता प्रहरीले लामो समय एउटै ठाउँमा बसेर सूचना सङ्कलन र अनुसन्धानको बहानामा पदको दुरुपयोग गरी आर्थिक लाभ लिइरहेको आरोप छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले प्रकरणलाई गम्भीर रूपमा लिँदै थप अनुसन्धान अघि बढाएको छ । दोषी ठहरिएमा संलग्न प्रहरीमाथि कडा कारबाही हुने प्रवक्ता भट्टले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस