
सर्लाही,०२ श्रावण । तस्करसँग घुसको लेनदेन गरेको अडियो सार्वजनिक भएपछि सर्लाहीको इलाका प्रहरी कार्यालय हिरापुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) बैधनाथ दास निलम्बनमा परेका छन् ।
प्रहरी स्रोतका अनुसार सई दासले स्थानीय तस्कर राजिव यादवको अवैध कार्यमा सहयोग गर्न प्रहरी जवान सन्तोष यादवमार्फत १८ हजार रुपैयाँ माग गरेको अडियो बाहिरिएको हो।
उक्त अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले तुरुन्तै अनुसन्धान प्रक्रिया अघि बढाउँदै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमार्फत प्रहरी प्रधान कार्यालय काठमाडौंमा दासको निलम्बन सिफारिस पठाएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार अडियो सार्वजनिक भएपछि प्रमाण सुरक्षित राख्न तथा निष्पक्ष छानबिन सुनिश्चित गर्न सई दासलाई निलम्बन सिफारिस गरिएको हो।
उनले सई दासको स्थानमा नयाँ अधिकृत खटाउने तयारी भइरहेको जानकारी पनि दिए। यस प्रकरणले प्रहरी संगठनभित्रको आन्तरिक अनुशासन र भ्रष्टाचार नियन्त्रणको विषय फेरि एक पटक सतहमा ल्याएको छ।
