
रौतहट,०२ श्रावण । बालिकालाई ‘ह्यापी बर्थ डे मेरी जान’ सम्बोधन गर्दै जन्मदिनको सन्देश पठाएका शिक्षक रविन्द्र प्रसाद साह बर्खास्त भएका छन्। रौतहटको गरुडा नगरपालिका–१ मा रहेको श्री माध्यमिक विद्यालयका करार शिक्षक साहलाई विद्यालयले अनुशासनहीन र आपत्तिजनक व्यवहार देखाउँदै पदबाट हटाएको हो।
१६ वर्षीया छात्रालाई मोबाइलमार्फत ‘ह्यापी बर्थडे मेरी जान’ भनेर आइतबार पठाइएको सन्देश सार्वजनिक भएपछि स्थानीय अभिभावक, राजनीतिक दल, समाजसेवी तथा विद्यालय प्रतिनिधिहरूको भेलाले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। सो निर्णय असार २९ गते वडा अध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा बसेको बैठकबाट भएको विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासले जानकारी दिए।
विद्यार्थीमाथि यौन संकेत बोकेको सन्देश पठाउने शिक्षक साहले एक वर्षदेखि यस्तो व्यवहार दोहोराउँदै आएको अभिभावकहरूको उजुरीमा उल्लेख छ। पीडित पक्षको उजुरीपछि विद्यार्थी आक्रोशित बनेका थिए। विद्यालयमा नाराबाजी, तोडफोड र कुटपिटसमेत भएपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएको थियो।
४९ वर्षीय साहले कक्षा ७ मा अंग्रेजी र कक्षा ९ मा सामाजिक विषय अध्यापन गर्दै आएका थिए। प्रहरीले उनलाई सोही दिन पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए। हाल सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
स्थानीयका अनुसार साह यसअघि पनि २०६२/६३ सालतिर यस्तै प्रकृतिको दुर्व्यवहारमा मुछिएका थिए। तर, कानुनी कारबाही नहुँदा उनी पुनः शिक्षकको भूमिकामा फर्किएका थिए। २०७२ सालमा शिक्षक नियुक्तिमा अनियमितता देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई कारबाही गरेको इतिहास पनि छ।
पीडित छात्राको मनोवैज्ञानिक सुरक्षाका लागि आवश्यक कदम चाल्न अभिभावक, समाजसेवी र स्थानीयबासीले माग गरेका छन्। उनीहरूले शिक्षक साहमाथि कडा कानुनी कारबाही हुनुपर्ने जोड दिएका छन्।
सम्बन्धित खबर:
– शिक्षक रबिन्द्र साहको ‘आई लभ यु जान’ म्यासेज प्रकरणले शिक्षण पेशामा उठाएको गम्भीर प्रश्न
– शिक्षकले बिद्यार्थीलाई ‘आई लव यु ज्यान’ भनेर म्यासेज पठाएपछि…
