रौतहटमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

पवन कुमार उपाध्याय

रौतहट, ०२ साउन। रौतहट जिल्लाको चपुर–गौर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका–८ स्थित अनुशका पार्टी प्यालेस अगाडि शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का व्यक्ति गम्भीर घाइते भएका छन्।

दुर्घटना साँझ करिब ७ बजे भएको हो। तीव्र गतिमा आइरहेको ना ५ च १५८ नम्बरको पिकअप गाडीले भारतीय नम्बर प्लेट भएको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मोटरसाइकलमा दुई जना सवार थिए। तीमध्ये माधवनारायण नगरपालिका–२, खेसरहिया निवासी पचु साह तुरहाका ३० वर्षीय छोरा दिनानाथ साह तुरहा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोटरसाइकलमा सँगै सवार रहेका अर्का व्यक्ति गरुडा नगरपालिका–८ बसबिट्टी जिन्गडीया निवासी शम्भु प्रसाद रौनियार गम्भीर घाइते भएका छन्। हाल रौनियार अनामिका अस्पतालमा उपचाररत छन्।

दुर्घटनापछि पिकअप चालक फरार रहेको छ भने इलाका प्रहरी कार्यालय गरुडाले घटनाबारे आवश्यक अनुसन्धान थालेको जनाएको छ।

स्थानीयवासीहरूका अनुसार सो क्षेत्रमा सवारीको अत्यधिक गति, ट्राफिक संकेतको अभाव र लापरवाहीका कारण यसअघि पनि धेरै दुर्घटनाहरू भइसकेका छन्।

दुर्घटनापछि स्थानीयले सडकमा सुरक्षा व्यवस्थाको माग गर्दै प्रशासनसँग गम्भीर ध्यानाकर्षण गराएका छन्।

🕯 मृतकप्रति हार्दिक श्रद्धाञ्जली
🙏 परिवारप्रति गहिरो समवेदना। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना।

ताजा अपडेट

खोजी गर्नुहोस