पर्सा प्रहरीले एक वर्षमा १५ सय भन्दा बढी फरार प्रतिवाद पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ५, आईतबार (७ महिना अघि)
  • ४ पटक पढिएको
पर्सा प्रहरीले एक वर्षमा १५ सय भन्दा बढी फरार प्रतिवाद पक्राउ

वीरगञ्ज, ४ श्रावन। जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादीहरूलाई पक्राउ गर्न चलाएको विशेष अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ ।

पर्सा प्रहरीका अनुसार एक वर्षमा मात्रै विभिन्न मुद्दामा दोषी ठहरिएर नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बसेका १ हजार ५ सय ११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ ।

पक्राउ परेका प्रतिवादीहरूबाट ७३ वर्ष २ महिना कैद सजाय र ३५ करोड ५१ लाख २९ हजार ५५६ रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए । 

अभियानले पीडितलाई न्याय सुनिश्चित गर्न र समाजमा अराजकता तथा निराशा रोक्न महत्त्वपूर्ण योगदान पुर्‍याएको एसपी मिश्रको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएको छ । “कुनै पनि बहाना, दबाब वा प्रभावमा कोही फरार प्रतिवादी उम्किन सक्दैन,” एसपी मिश्रले भने ।

बाँकी रहेका फरार प्रतिवादीहरूलाई पनि पक्राउ गर्न अभियान निरन्तर जारी रहने प्रहरीले प्रतिबद्धता व्यक्त गरेको छ । अभियानले पर्सा जिल्लामा कानुनी शासन कायम गर्न र पीडितलाई न्याय दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस