
रौतहट, ५ श्रावन। मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’लाई यौन शोषण सम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई आइतबार विहान काठमाडौंको भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए।
पूर्वप्रदेश प्रमुख झाविरुद्ध काठमाडौंमा बालिका बलात्कारसम्बन्धी उजुरी दर्ता भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। पीडितले झामाथि १७ वर्षको उमेरदेखि निरन्तर यौन शोषण गरेको आरोप लगाएकी छन्। उनी मधेसी समुदायकी युवती हुन्, जसलाई घरायसी सहयोगीका रूपमा काठमाडौं ल्याइएको थियो। उक्त उजुरी २०८० माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो। उजुरी दर्तापछि झा भारत फरार भएका थिए।
केही साताअघि उनी पुनः काठमाडौं फर्किएको जानकारी पाएपछि प्रहरीले निगरानी बढाउँदै आइतबार उनीमाथि पक्राउ प्रक्रिया अघि बढाएको हो। जिल्ला अदालतले यसअघि नै झाविरुद्ध पक्राउ अनुमति जारी गरिसकेको थियो। पक्राउपछि उनलाई आज अदालतमा पेश गरिएपछि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
पीडितका अनुसार उजुरी दर्ता भएपछि उनलाई विभिन्न माध्यमबाट धम्की र दबाब आउने क्रम जारी थियो। उजुरीमा उल्लेख भएअनुसार झाले युवतीको पठनपाठनको जिम्मा लिने बहानामा विश्वास जित्दै वर्षौंसम्म यौन दुर्व्यवहार गरेका थिए। डा. अहिराज २०७७ सालको फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेश प्रमुखका रूपमा कार्यरत थिए।
