
रौतहट,१७ श्रावण। रौतहटको ईशनाथ नगरपालिका–२ स्थित भारतीय सीमासँग सटेको बनाना रिसोर्ट (केराबारी) मा शनिबार बिहान पौने ४ बजे भीषण आगलगी भएको छ। आगलगीका कारण रिसोर्टमा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।
रिसोर्टका सञ्चालक राकेस गुप्ताका अनुसार आगलगीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। जलेका सामग्रीमा कृषि उपकरण, खाद्यान्न, फर्निचर, फ्रिज, विद्युतीय उपकरणलगायतका मूल्यवान सामग्री रहेका छन्।
नेपाल सरकार र श्री जौहरीमाई कृषि तथा सहकारी संस्था बीचको साझेदारी लगानीमा निर्माण गरिएको यो रिसोर्ट स्थानीय तथा सीमा पारिका भारतीय पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको थियो। केराको उत्पादन र परिकारलाई केन्द्रमा राखेर सञ्चालनमा ल्याइएको बनाना रिसोर्टमा तीन दर्जनभन्दा बढी केराका परिकार तयार गरिँदै आएको स्थानीय सञ्चारकर्मी किशोरी प्रसाद यादवले बताए।
आगलगीको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल बीओपी औरैया, ईशनाथ प्रहरी चौकी, नगरपालिकाको दमकल टोली तथा स्थानीयवासीहरूको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको हो।
हालसम्म आगलागीको कारण पुष्टि हुन नसके पनि प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट सर्किट बाट आगलागी भएको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएका छन्।
आकर्षक स्वरूप र स्वादिलो परिकारका कारण छोटो समयमा लोकप्रिय बनेको बनाना रिसोर्टको आगलगीप्रति स्थानीयवासीहरूले दुःख व्यक्त गर्दै पुनः निर्माण र सञ्चालनका लागि सहयोगको वातावरण बनाउन आग्रह गरेका छन्।
